काठमाण्डु – सरकारले खाडी मुलुकबाट गर्ने उद्धारको कार्यशैलीबारे सम्बन्धित देशका राजदूतहरुले असन्तुष्टी जनाएका छन् । कतार र मलेसियाका राजदूतहरुले सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धारमा चासो नदिएको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधि सभाको महिला तथा महिला तथा सामाजिक समितिको भर्चुअल मिटिङमा राजदूतहरुले जिउँदो श्रमिकलाई उद्धार गर्न स्पष्ट नीति नलिएको आरोप लगाए ।
उनीहरुले विदेशबाट लास ल्याउन सरकारले चार गुणा बढी पैसा तिर्न तयार हुने तर साँच्चिकै समस्यामा परेकालाई उद्धार गर्न १५ सय खर्च गर्न नसक्ने भन्दै आपत्ति जनाएका हुन् । उनीहरुले सरकारले राजदूुतसँग समन्वय नगरी एकलौटी निर्देशिका बनाएर थप समस्या उत्पन्न भएको बताएका छन् ।
कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले अधिकांश कम्पनी बन्द हुने अवस्थामा रहेकाले नेपालीहरु तातो घाममा सडकमा बस्न बाध्य हुने चेतावनी दिए ।
‘विदेशका रोजगारहरुले दाता कम्पनी बन्द गरिरहेका छन् । त्यसकारण नेपाली श्रमिक रोजगारी गुमाउने अवस्थामा छन् । अब नेपाली श्रमिक ४५ डिग्री तापक्रमको सडकमा बस्ने अवस्था आइसकेको छ । सरकारले निःशुल्क उद्धारको पहल गर्नुपर्छ’, राजदूत भारद्वजले भने ।
त्यस्तै मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले सरकारले लास ल्याउन खर्च गरेको तर, जिउँदो मान्छेको उद्धार गर्न चासो नदिएको आरोप लगाए । उनले विदेशमा वास्तविक समस्यामा परेका नेपालीहरुले राहतको प्याकेज नपाएको गुनासो पोखेका छन् ।
‘सरकारले मान्छे मर्यो भने चार गुणा बढी पैसा तिरेर लैजान्छ । जिउँदो मान्छे उद्धार गर्न पैसा दिँदैन’, उनले आक्रोश पोखे ।
सरकारले विदेशमा मृत्यु भएका नेपालको लास ल्याउन ४ हजार रिङगेट खर्च गर्दै आएको छभने जिउँदो श्रमिकको उद्धार गर्न १५९० रिङगेट खर्च गर्दै आएको छ । त्यस्तै उनीहरुले नियमित उडान गर्न पनि सरकारसँग माग गरेका छन् ।
उनीहरुले पैसा तिरेर स्वदेश फर्किन्छु भन्दा पनि श्रमिकले टिकट नपाएको बताएका छन् । अन्तराष्ट्रिय उडान संख्या बढाउन सके श्रमिकको उद्धारम समस्या नहुने उनीहरुको तर्क छ ।




प्रतिक्रिया