काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । पछिल्लो समय मन्त्रीहरु सहभागी बैठकका कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि प्रधानमन्त्रीले सतर्क भएर काम गर्न निर्देशन दिएका हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री अोलीले काठमाण्डु उपत्यकामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिरहेकाले थप सजक भएर काम गर्न निर्देशन दिएका हुन् ।
‘पछिल्लो समय काठमाण्डु उपत्यकामा कोरोनाको संक्रमण बढ्दो रुपमा छ । मन्त्रीज्यूहरु नै उपस्थित भएको बैठकमा सहभागीलाई कोरोना देखिएपछि प्रधानमन्त्रीज्यूले सकर्तता अपनाएर काम गर्न निर्देशन दिनुभएको हो’, स्रोतले काठमाण्डुपाटीसँग भन्यो ।
प्रधानमन्त्री ओली आफैं पनि मिर्गौलाका रोगी भएकाले मन्त्रीहरुलाई कोरोना संक्रमणबाट बच्न निर्देशन दिएका हुन् । केही दिन अगाडि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी भएको एक बैठकका एक जनालाई कोरोना संक्रमण भएको थियो ।
उनीहरु केहीदिन अगाडि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा सहभागी भएका थिए । सीसीएमसीको कार्यालयमा कार्यरत कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यद्यपी सबै मन्त्रीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री अनुपस्थित
सरकारका प्रवक्ता, अर्थ एवं सञ्चारमन्त्री डा. युवराज खतिवडा आइतबारको मन्त्रिपरिषद्को बैठकमा अनुपस्थित भएका छन् ।
मुटु एवं उच्च रक्तचापका रोगी रहेका मन्त्री खतिवडा दिनभर मन्त्रालयमा बसेर काम गरे पनि साँझको बैठकमा अनुपस्थित भएका हुन् । मन्त्री खतिवडा बैठकमा सहभागी नभएको विषयबारे केही खुल्न सकेको छैन् ।
अर्थमन्त्री खतिवडाको पदावधी भदौ २० गते सकिँदैछ । उनलाई पुनः राष्ट्रियसभामा मनोनित गरेर निरन्तरता दिने विषयमा प्रधानमन्त्री ओली सकारात्मक रहेको चर्चा चलेको छ । उनको राष्ट्रियसभा सदस्यको पदावधी सकिएको ६ महिना पूरा हुँदैछ ।




प्रतिक्रिया