काठमाण्डु – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत भ्रमणका क्रममा पाकिस्तानसँग सम्बन्ध कायम राख्नु अमेरिकाको रणनीतिक आवश्यकता भएको स्पष्ट पारेका छन्।
परमाणु हतियार रहेको पाकिस्तानसँग उसको भौगोलिक अवस्थाका कारण अमेरिकाले बेवास्ता गर्न नसक्ने उनको भनाइ छ।
रुबियोले भारतसँगको सम्बन्धलाई पाकिस्तानसँगको सम्बन्धका कारण कमजोर नबनाइने पनि बताएका छन् ।तर पनि उनको अभिव्यक्तिले दक्षिण एसियामा अमेरिकाले आफ्नै रणनीतिक स्वार्थलाई प्राथमिकता दिने संकेत गरेको छ।
पाकिस्तानसँग सम्बन्ध किन जरुरी ?
भारत भ्रमणमा रहेका रुबियोले सीएनएन न्युज १८ र इन्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा पाकिस्तानसँगको अमेरिकी सम्बन्धबारे धारणा राखेका हुन्।
भारतविरुद्ध आतंकवादलाई समर्थन गरे पाकिस्तानलाई दिइने अमेरिकी सुरक्षा सहायता कटौती गर्ने आफ्नो पुरानो अडानबारे सोधिएको प्रश्नमा रुबियोले आफू अहिले सिनेटर नभई विदेशमन्त्री भएकाले अमेरिकी विदेश नीति चलाउनुपर्ने बताए।
उनले भने, ‘पाकिस्तान एउटा यस्तो देश हो, जससँग हामीले सम्बन्ध कायम राख्नुपर्छ। ऊसँग परमाणु हतियार छ। भौगोलिक अवस्थाका कारण पनि हामीले उसँग संवाद र सम्पर्क कायम राख्न आवश्यक छ।’
उनले भारतले पनि इरानसँग सम्बन्ध कायम राख्ने गरेको उदाहरण दिए।
पाकिस्तानलाई नएक्ल्याउने
अमेरिकाले भारतसँगको सम्बन्धलाई अन्य देशसँगको सम्बन्धको मूल्यमा अघि नबढाउने उनले बताएका छन्। पाकिस्तानसँगको सम्बन्धले भारतसँगको सम्बन्धलाई कमजोर नबनाउने उनको भनाइ छ।
उनले पाकिस्तानसँग सम्पर्क कायम राखेर सम्भावित द्वन्द्व रोक्न अमेरिकाले आफ्नो प्रभाव प्रयोग गर्न सक्ने पनि बताए।
भारतमा केहीले ट्रम्प प्रशासनको पाकिस्तानप्रतिको बढ्दो निकटतालाई सन् १९७० को दशकमा रिचर्ड निक्सन र हेनरी किसिन्जरको समयमा पाकिस्तानको सैन्य नेतृत्वलाई अमेरिकाले दिएको समर्थनसँग तुलना गरिरहेका छन्।
तर विदेश मन्त्री रुबियोले अहिलेको विश्व परिस्थिति शीतयुद्धकालीन अवस्थाभन्दा फरक रहेको बताए।
भारतमाथिको दबाब र व्यापार विवाद
भ्रमणका क्रममा रुबियोले भारतमाथि लगाइएका अमेरिकी कर भारतलाई सजाय दिन नभई व्यापक विदेश नीतिको हिस्सा भएको दाबी गरेका छन्।
रुसबाट भारतले गर्ने ऊर्जा आयात र रुस(युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी प्रयास यस विवादसँग जोडिएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट तेल तथा ग्यास खरिद गर्ने भारतसहितका पाँच देशमाथि लगाउन सकिने १०० प्रतिशत अतिरिक्त करसम्बन्धी कदम तत्कालका लागि स्थगित गरेका छन्।
रुबियोले भारतलाई अचानक रुसबाट ऊर्जा आयात बन्द गर्न कठिन हुने पनि स्वीकार गरेका छन्।
भ्रमणको उद्देश्य ऊर्जा र व्यापार
अक्टोबर १९ देखि २२ सम्मको भारत भ्रमणमा रहेका रुबियोले मुम्बईमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। भ्रमणमा गुजरातको जामनगरस्थित तेल प्रशोधन केन्द्र पनि उनको प्राथमिकतामा छ।
विश्लेषकहरूले भ्रमणलाई ऊर्जा सुरक्षा, व्यापार विवाद समाधान, निजी क्षेत्रको लगानी र आर्थिक सहकार्यसँग जोडेर हेरेका छन्।
मुम्बईमा भारत, अमेरिका र संयुक्त अरब इमिरेट्सका विदेशमन्त्रीबीच भएको त्रिपक्षीय बैठकमा व्यापार, लगानी, प्रविधि, एआई तथा क्षेत्रीय सुरक्षा र स्थिरताबारे छलफल भएको थियो।
रूबियोको भ्रमणले अमेरिकाले भारतसँग रणनीतिक साझेदारी बढाउन चाहेको तर त्यसका लागि पाकिस्तानसँगको सम्बन्ध त्याग्ने अवस्थामा नरहेको सन्देश दिएको छ।
परमाणु सुरक्षा, भौगोलिक अवस्थिति र क्षेत्रीय स्थिरताका कारण पाकिस्तान अमेरिकाका लागि महत्त्वपूर्ण रहिरहने प्रष्टोक्ति रुबियोले भारतमै आएर दिएका हुन् ।


प्रतिक्रिया