चितवन- कोभिड–१९ संक्रमित गर्भवतीका लागि भरतपुर अस्पतालले छुट्टै कक्षको निर्माण थालेको छ। व्यथा लागेका गर्भवतीलाई राख्ने, साधारण बच्चा जन्माउने, शल्यक्रिया र शिशु कक्ष अलग्गै बनाउन सुरु गरेको अस्पतालले जनाएको छ।
चितवनसहित १९ जिल्लाका बिरामी आउने यस अस्पतालमा कोभिड भएकाको राम्रो उपचार र अन्यलाई सुरक्षित बनाउन अलग्गै कक्ष बनाउन थालिएको हो।
भरतपुर अस्पतालमा वार्षिक १३ हजारभन्दा बढी गर्भवती सुत्केरी हुने गर्दछन्। अस्पतालका वरिष्ठ कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार हाल दैनिक ३० जनाभन्दा बढी गर्भवतीले यहाँ बच्चा जन्माउने गरेका छन्।
अन्यत्रभन्दा सुरक्षित ठानेर नै यहाँ बढी गर्भवती सुत्केरी हुन आउने गरेको उनको भनाइ छ। हालसम्म अस्पतालले चार जना कोरोना संक्रमित महिलाको प्रसूति गराइसकेको छ। एक जना महिला आइसोलेसनमा रहेको सापकोटाको भनाइ छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार यही शुक्रबारसम्ममा ती कक्ष तयार हुने गरी काम भइरहेको छ। कोभिडको आइसोलेसन बनाइएको अस्पतालको ‘ए’ ब्लकको भुइँतलामा यसअघिको सर्जिकल क्याबिनका १० कोठामध्ये चार कोठामा छुट्टै कक्ष बनाउन थालिएको छ।
तिवारीका अनुसार कोभिड आइसोलेसन रहेकै ठाउँमा प्रसूति कक्ष निर्माण गरिँदैछ। कोभिड संक्रमित आमाबाट जन्मिएका बच्चा राख्ने ठाउँमा भेन्टिलेटरसमेत जडान गरिने तिवारीले जानकारी दिए।
कोभिडका बिरामी आउने छुट्टै प्रवेश क्षेत्र भएकाले उनीहरुबाट अन्य सुत्केरी र बिरामीलाई कुनै समस्या हुने छैन। अस्पतालको “ए” व्लकको भुई तलाको सर्जिकल विभागका ६ कोठा र अर्थोपेडिक कक्षलाई हाल कोभिड आइसोलेसन बनाइएको छ। सोही ठाउँमा कोभिड प्रसूति कक्ष बनाउन लागिएको हो।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले परोपकार प्रसूतिगृह पछि देशमै सबैभन्दा बढी सुत्केरी हुने अस्पताल भएकाले आवश्यक सम्पूर्ण तयारी गरेको बताए।
भरतपुर अस्पतालले १० शैयाको कोभिड सघन उपचार कक्ष पनि सञ्चालन गरिरहेको छ। यस अस्पतालले जिल्लामा कोभिड उपचारको नेतृत्व गरिरहेको छ। मेडिकल कलेज, निजी अस्पताल सबैको सहकार्यमा कोभिड उपचार गराइएको अधिकारीको भनाइ छ। रासस




प्रतिक्रिया