भावी मुख्यसचिवमा शंकरदास वैरागीको पल्ला भारी

भावी मुख्यसचिवमा शंकरदास वैरागीको पल्ला भारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामान्य अवस्थामा मुख्यसचिव लोकदर्शन रेग्मी आगामी कात्तिक ६ गते अवकाश पाउने छन् । त्यसअघि असोज २२ गते नै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीको ५ वर्षे पदावधि पूरा हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरूका विश्वासपात्र सचिव वैरागी मुख्यसचिव हुन नपाउने भएकाले सामान्य अवस्थालाई अलि फेरबदल गरिँदैछ । सरकारी उच्च स्रोतका अनुसार वैरागीले अवकाश पाउनुअघि नै रेग्मीलाई राजीनामा गर्न लगाएर मुख्यसचिव पद रिक्त गर्ने र त्यसमा वैरागीलाई नियुक्त गर्ने तयारी सरकारले थालेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०७४ कात्तिक ६ गते रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि पनि रेग्मीले निरन्तरता पाए । मुख्यसचिव रेग्मीको ३ वर्षे पदावधि आगामी कात्तिक ६ गते सकिँदैछ ।

२०७२ असोज २२ गतेको मन्त्रिपरिषद् बैठकबाट वैरागी परराष्ट्र सचिवमा बढुवा भएका थिए । सचिवको ५ वर्षे पदावधि अनुसार आगामी असोज २२ गते वैरागीले अवकाश पाउने छन् । तर त्यसअघि नै उनी मुख्यसचिव बन्न सके भने ३ वर्ष देशको प्रशासनिक नेतृत्व सम्हाल्नेछन् ।

उच्च राजनीतिक तहमा भइरहेको लविङ अनुसार मुख्यसचिव रेग्मीलाई राजदूत बनाउने शर्तमा कार्यकाल बाँकी छँदै राजीनामा गराइने छ । रेग्मीले बेलायतको राजदूत बन्न रुचि देखाएको स्रोतले जनाएको छ । बेलायतस्थित नेपाली राजदूत दूर्गा सुवेदीको कार्यकाल केही समयपछि सकिँदैछ । आफू निकटलाई मुख्यसचिव बनाउन पाइने भएपछि रेग्मीलाई राजदूत बनाउन प्रधानमन्त्री ओली समेत सकारात्मक देखिएका छन् । यसरी रेग्मीले मार्गप्रशस्त गरिदिएपछि असोज २२ गतेअघि नै देशले नयाँ मुख्यसचिव पाइसक्ने छ ।

आफू अवकाश पाउनुअघि नै मुख्यसचिव पद रिक्त हुने भएपछि मुख्यसचिव बन्ने दौडमा परराष्ट्र सचिव वैरागीसँगै पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी समेत देखिएका छन् । तर परराष्ट्र सचिव वैरागीकै पल्ला भारी रहेको स्रोतको दाबी छ । वैरागीसँग कूटनीतिक क्षेत्र र अन्तर्राष्ट्रिय सम्बन्धमा विशेष अनुभव छ ।

परराष्ट्रको प्रशासनमा लामो समय वैरागीको नेतृत्व

तत्कालीन परराष्ट्र सचिव अर्जुनबहादुर थापाले २०७० पुस ३० गते उमेरहदका कारण अवकाश पाएपछि सरकारले वैरागीलाई निमित्त परराष्ट्र सचिवको जिम्मेवारी दियो । त्यसयता वैरागीले नै मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हालिरहेका छन् । निजामती सेवा ऐन अनुसार सचिवमा बढुवा हुन कम्तीमा ५ वर्ष सहसचिव भएको हुनुपर्ने भएकाले वैरागी तत्कालै सचिवमा बढुवा हुन सकेनन् । निमित्त, कायममुकायम सचिव हुँदै २०७२ असोज २२ गते वैरागी सचिव नियुक्त भएका थिए ।

परराष्ट्र मन्त्रालयमा हर्ताकर्ता भएर आउनुअघि वैरागी जेनेभास्थित नेपाली नियोगमा स्थायी प्रतिनिधि तथा राजदूतमा कार्यरत थिए । जेनेभा जानुअघि उनले न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा उपस्थायी प्रतिनिधिका रूपमा काम गरे । वैरागीसँग भारतस्थित नेपाली दूतावास, युरोपेली युनियनका लागि नेपाली मिसन, अस्ट्रेलियास्थित नेपाली दूतावासमा काम गरेको अनुभव समेत छ ।

वैरागीले परराष्ट्र मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हालेपछि चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भएको छ । यसलाई अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबले महत्वपूर्ण मानिन्छ । अमेरिका, जापान, दक्षिण कोरिया लगायत देशसँग पनि नेपालको सम्बन्ध विस्तार र पुनर्ताजगी भएको जानकारहरू बताउँछन् । भारतसँगको राजनीतिक सम्बन्धमा खटपट देखिएपनि प्रशासनिक सम्बन्ध सामान्य नै रहेको बताइन्छ । वैरागीकै नेतृत्वमा केही हप्ताअघि नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक भएको थियो । जसलाई बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधार्ने सेतुको रूपमा लिइएको छ ।