एनपीएलका सबै खेललाई आईसीसीको मान्यता

एनपीएलका सबै खेललाई आईसीसीको मान्यता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार एनपीएलको तेस्रो संस्करण आगामी २६ अक्टोबरदेखि २१ नोभेम्बरसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

आईसीसीको मान्यता प्राप्त भएसँगै प्रतियोगिताका सम्पूर्ण खेलले आधिकारिक टी–२० क्रिकेटको मान्यता पाएका हुन् । यसले एनपीएललाई अन्तर्राष्ट्रिय क्रिकेटको संरचनाभित्र थप स्थापित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

क्यानले यस उपलब्धिले नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

एनपीएलको तेस्रो संस्करणमा विदेशी खेलाडीको सहभागिता, डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को प्रयोग र प्रतिस्पर्धात्मक खेलले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

आईसीसीको आधिकारिक मान्यताले प्रतियोगिताको विश्वसनीयता बढाउनेछ । यस्तै नेपाली खेलाडीलाई उच्चस्तरको प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने अवसर दिनेछ ।