कर्णाली – सामान्य अवस्थामा बिरामीलाई शल्यक्रिया गर्दा चिकित्सकलाई केही हदको जोखिम मोल्नुपर्छ नै । खतराको बीचबाट सफल हुने शल्यक्रियाले अझ बढी उनीहरुलाई पेशागत सन्तुष्टि मिल्छ । शल्यक्रियाबाट नयाँ जीवन प्राप्तिको अनुभव गर्नेले व्यक्त गर्ने खुशी यथार्थमा चिकित्सकको जीवनको सर्वोत्तम खुशी बन्छ ।
ती खुशीले नै चिकित्सकलाई जटिल परिवेशका माझमा थुप्रै चुनौतिसँग लड्ने ऊर्जा मिल्छ भन्ने उदाहरण पाउन सकिन्छ । यद्यपि त्यही उदाहरणीय काम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत स्त्रीरोग विशेषज्ञ डा.सुबी बस्न्यात नेतृत्वको टोलीले देखाएको छ । कर्णालीका सयौं महिलाको प्रसव वेदनासँग साक्षात्कार डा.सुबी र उनी नेतृत्वको टोलीलाई विश्वव्यापी सङ्कट बनेको कोरोना भाइरसको त्रासका बीच सात गर्भवतीलाई सुत्केरी र शल्यक्रिया गर्नु सहज थिएन । तथापि यही महामारीको सङ्कटमा उक्त टोलीले कोरोना सङ्क्रमित पाँच गर्भवतीलाई सुत्केरी र दुईजनालाई शल्यक्रिया ग¥यो ।
‘सामान्य सुत्केरीलाई शल्यक्रिया गर्दाको जोखिम त छँदै थियो तर यो महामारीको प्रकोपको बेलामा जोखिम झन् चरम बनेर आयो,’ डा.बस्न्यातले भनिन्, ‘कोरोना सङ्क्रमित महिलाको सुरक्षित शल्यक्रिया गर्नुका साथै आफू पनि त्यो सङ्क्रमणबाट बच्न त्यत्तिकै संयम हुनुपर्ने ।’ शुरुको सिञ्जा गाउँपालिकाको कोरोना सङ्क्रमित गर्भवतीलाई सुत्केरी गराउँदा निकै डर लागेर आएको उनले बताइन ।
उनले अगाडि भनिन्, ‘जटिल परिस्थितिमा टोलीमा रहेर विशेष सहयोग पु¥याउन नर्स तथा अपरेशन थिएटरका सबै स्टाफको ठूलो भूमिका छ । सबैको संयुक्त प्रयासले आफूसहित कोरोना सङ्क्रमित सुत्केरीको जीवन बचाउन र सुरक्षित राख्न सफल भयौँ ।’ टोलीले कालीकोट महावै गाउँपालिका, जुम्ला गुठिचौर, सिञ्जा, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाका कोरोना सङ्क्रमित सात गर्भवतीको शल्यक्रिया र सुरक्षित सुत्केरी गराएको थियो ।
त्यसैगरी, उहाँको नेतृत्वमा स्त्रीरोग विशेषज्ञ डा।राजीव शाह, एनेस्थेसियोलोजिष्ट डा।रविन खातुङलगायतको टोलीले मुटु रोगी सिञ्जा गाउँपालिका जुम्ला र ज्वरो रोगी महावै गाउँपालिका कालीकोटको सुत्केरी गराउनुपर्ने कोरोना सङ्क्रमितको सफल उपचार गरेर ज्यान जोगाएको थियो ।
स्त्रीरोग विशेषज्ञ डा.शाहले सङ्क्रमित सात गर्भवतीमध्ये चार जनालाई सामान्य सुत्केरी, दुई जनालाई शल्यक्रिया र एक जना सेभेएर प्रिक्लाम्सिया भएको गर्भवतीको पनि उपचार गराईएको बताइन् । ‘बन्दाबन्दी पूर्वप्रति महिनामा सुरक्षित गर्भपतनका १०–१५ केस आउने गरेकोमा त्यसपछि प्रति महिना ३०–४० केस आउने गरेका छन्,’ उनले भनिन्, ‘शायद बन्दाबन्दीका कारण गाउँमा स्वास्थ्य सेवा सहजै पाउन नसकेर अहिले गर्भपतनका केसहरु बढेको हुन सक्छ ।’
ढाई वर्षको छोरी छोडेर उपचारमा डा.दम्पती
काडमाण्डु महानगपालिका १५ छाउनीका स्थायी निवासी स्त्रीरोग विशेष डा.सुबी बस्न्यात ढाई वर्षको छोरी छोडेर जुम्ला प्रतिष्ठान आएको अहिले सात महिना भयो । निर्वाध उपचार सेवामा खटिनु पर्दा घर जाने समय मिलेको छैन, उनलाई । यो समयमा गर्भवती महिलाको केस बढी आउने भएकोले घर जान नपाईएको उनको भनाई छ ।
डा.सुबीको श्रीमान् एनेस्थेसियोलोजिष्ट डा.रविन खातुङ पनि प्रतिष्ठानमै कार्यरत छन् । डा.दम्पती घरयासी मामलालाई भन्दा सेवालाई प्रधान ठानेर अहोरात्र खटिरहेका छन् । कर्णालीका गर्भवतीसहित सबै महिलाका दुःख र भावना बुझ्दै आएकी डा.बस्न्यात र उनका श्रीमान् बिगत सात वर्षदेखि प्रतिष्ठान जुम्लामा काम गर्दै आएका छन् ।
‘यतिबेला विश्व कोरोना महामारीको चपेटामा छ । सामान्य अवस्थामा त आफ्नो ड्युटी पूरा गर्नुपर्दछ भने यो विषम घडीमा पछि हट्ने कुरै भएन’, उनले भनिन्, ‘यहाँका महिलाको स्वास्थ्य सेवामा कमि हुन नदिन म सेवामै खटिएकी छु ।’ शुरुमा छोरीका लागि तीन÷तीन महिनाको अवधिमा घर जाने गरेपनि अहिले कोरोनाले त्यो अवस्था नरहेको उनले बताइन ।
मेडिकल अफिसरका रुपमा पाटन अस्पतालमा काम गर्दै गर्दा प्रतिष्ठान जुम्लाका तत्कालीन उपकुलपति डा.पारसकुमार आचार्यको सहयोगमा विसं. २०७० सालमा डा.सुबी र उनको श्रीमान् डा. रविन जुम्ला आएका थिए । प्रतिष्ठानकै सहयोगमा डा.सुबीले एमडीईन गाईनोलोजी र डा.रविनले एमडीईन एनेस्थेसिया गरेका छन् ।
काडमाण्डु महानगपालिका १५ छाउनी स्थायी घर भएका डा.दम्पतिलाई जुम्ला प्रवेश शुरुमा असामान्य थियो । यद्यपि प्रवेश गरेको पहिलो महिनामा यहाँका खसभाषी महिलाको उपचारमा खटिँदा छोटै समयमै घुलमिल हुन सकिएको अनुभव डा.सुबीले सुनाइन् । यो सात वर्षको अवधिमा कर्णालीका महिलालाई उपचार सेवा दिन पाउँदा निकै सन्तुष्टि मिलेको डा.दम्पतीले बताए । नागरिकको सेवालाई पहिलो ठानेर सात महिनादेखि ढाई वर्षको छोरीलाई काठमाण्डुमै छोडेर डा.दम्पति प्रतिष्ठानमा अनवरत रुपमा काम गर्दै आएका छन् ।




प्रतिक्रिया