असोज १ बाट लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने

असोज १ बाट लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैङ्कले जारी गरेको चालू आर्थिक वर्ष २०७७-७८ को मौद्रिक नीतिमा यातायात क्षेत्रलाई कोरोनाका कारण भएको बन्दाबन्दीलगायतका कारण अति प्रभावितको वर्गमा राखे पनि कार्यविधिमा भने मध्यम प्रभावित भनिएपछि यातायात व्यवसायीले त्यसको विरोध गरेका छन् ।

उनीहरूले सार्वजनिक यातायात क्षेत्रलाई अति प्रभावितमा नै राख्न माग गरेका छन् तर नेपाल राष्ट्र बैङ्कले भने अति प्रभावित वा मध्यम प्रभावित जे उल्लेख भए पनि सेवा सुविधा एउटै राखिएकाले फरक नपर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैङ्कले मङ्गलबार जारी गरेको एकीकृत निर्देशनले सो कुराको सम्बोधन गरेको जनाएको छ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टले भन्नुभयो, “अति प्रभावित वा मध्यम प्रभावित जे भने पनि त्यसमा फरक पर्दैन, सुविधा उही हो । अति प्रभावित र मध्यम प्रभावितलाई पुनर्कर्जा, पुनर्तालिका संरचना गर्न दिने निर्देशन हिजो जारी भएको एकीकृत निर्देशनको संशोधनमा उल्लेख भइसकेको छ । ”

उहाँले त्यसबारे बैङ्कहरूलाई निर्देशन भएकाले अब व्यवसायीले वाणिज्य बैङ्कहरूमा सम्पर्क गर्दा हुने पनि बताउनुभयो ।
यातायात व्यवसायीले भने आफूहरूलाई मध्यम प्रभावितमा राखेर सेवा सुविधाबाट वञ्चित गर्न खोजेको आरोप लगाएका छन् तर व्यवसायीको गुनासो सम्बोधन भइसकेको प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

मौद्रिक नीतिले यातायात क्षेत्रको पुनर्कर्जा र ऋणको पुनर्तालिकाको व्यवस्था गरे पनि व्यवसायीले त्यसको लाभ अहिलेसम्म लिएका छैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले भन्नुभयो, “अहिलेसम्म कुनै राहत पाएका छैनौँ । बैङ्कले कर्जाको पुनर्तालिका गर्नसमेत मानेका छैनन् । ”

यातायात मजदुर सङ्गठन र नेपाल यायायात राष्ट्रिय महासङ्घले असोज १ बाट लामो दूरीका सार्वजनिक सवारीसाधान सञ्चालन गर्ने भएका छन् । व्यवसायीले बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सरकारले रोके पनि आफूहरूले गाडी चलाउने जानकारी दिएका छन् ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।