कोरोना रिपोर्ट ढिलो आउँदा झनै जोखिम बढ्यो

कोरोना रिपोर्ट ढिलो आउँदा झनै जोखिम बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भदौ १३ मा विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवार र आफन्तलाई बुझाइसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आयो। मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ६२ वर्षीय वृद्धको शव आफन्तले दाहसंस्कार गर्न लैजाँदै गर्दा रिपोर्ट आएको हो।

त्यतिबेला आफन्तले शव मोरङको कानेपोखरी पुर्‍याइसकेका थिए। शवलाई घर पुर्‍याएर धार्मिक परम्पराअनुसार अन्तिम संस्कारका लागि घाट लाने तयारी गरिएको थियो। तर, रिपोर्ट पोजेटिभ आएपछि प्रहरीले शवलाई कानेपोखरीमै रोकेर नेपाली सेनाको ‘बडी’ व्यवस्थापन टोलीलाई जिम्मा लगायो।

यही भदौ ६ मा मोरङको विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय एक पुरुषको राति मृत्यु भयो। श्वासप्रश्वासमा समस्या भएको बताएपछि उनलाई तत्काल कोसी अस्पताल लगिएको थियो।

एम्बुलेन्सबाट ओराल्दै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए। आफन्तले ती पुरुषको शव घरमा ल्याए। परिवारका सदस्यले मधुमेहको पुरानै समस्याका कारण उनको मृत्यु भएको हुन सक्ने अड्कल काटे। तर, उनमा कोरोना संक्रमण भएको दाहसंस्कार गर्न घाट लैजाने बेलामा मात्रै थाहा भयो। वडाध्यक्ष विजय कामतले मृतकमा कोरोना संक्रमण रहेकाले घाटमा लैजान नमिल्ने बताए। त्यसपछि नेपाली सेनाको टोली आएर शव लिएर गयो।

ती पुरुषको पीसीआर रिपोर्ट भने निधन हुनुभन्दा दुई दिनअघि आएको थियो। रिपोर्ट पोजेटिभ आएको खबर प्रयोगशालाले प्रदेश १ को सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकालाई जानकारी दियो। दुवै निकायले कोरोना देखिएकोे खबर समयमै सम्बन्धित व्यक्ति र परिवारलाई दिएनन्। मृत्युको पीडासँगै मृतकका परिवार, आफन्त र छिमेकीको पीसीआर परीक्षण गर्नुपर्‍यो।

भदौ २० मा मोरङका एक पुरुषको दाहसंस्कार गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो। १९ गते विहान ३ बजेर ४० मिनेटमा विराट मेडिकल टिचिङ हस्पिटलमा मृत्यु भएका मोरङ बूढीगंगा गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको रिपोर्ट ढिलो आएको हो।

माथि उल्लेख गरिएका प्रतिनिधि घटना मात्रै हुन्। कोरोना भाइरसको पीसीआर परीक्षणको रिपोर्ट ढिला आउँदा प्रदेश १ मा समस्या झनै जटिल बन्न थालेको छ। कोरोना संक्रमण बढ्दै गर्दा लक्षण देखिएका वा सम्पर्कमा भएकाको मात्रै होइन मृत्यु भएकाहरूको पनि समयमा पीसीआर रिपोर्ट आउँदैन। जसले संक्रमणको जोखिम झनै बढाएको छ।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।