काठमाण्डु – काठमाण्डु उपत्यकामा सरकारी कार्यालय नै कोरोना भाइरसको संक्रमणको मुख्य अड्डा बन्न थालेका छन् ।
सरकारले निषेधाज्ञा खोलेसँगै सरकारी कार्यालयहरुमा स्वास्थ्यसम्बन्धी मापदण्डहरु पालना नगर्दा/नगराउँदा कोरोनाको जोखिम बढेको हो । सरकारले बढी भिडभाड हुने सरकारी कार्यालयहरुमा अनलाइन सिस्टमको विकास नगर्दा पनि यस्तो जोखिम बढेको हो ।
पछिल्लो समय यातायात कार्यालयहरुमा मानिसको भिडभाड बढी पाइएको छ । त्यस्तै कर कार्यालय, मालपोतलगायतका कार्यालयहरुमा सेवाग्राहीहरुको भीडभाड बढी पाइएको छ । सेवाग्राहीले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगर्दा यस्तो जोखिम बढेको जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् ।
चालक अनुमतिपत्र नवीकरण गर्न आएका यात्रुको संख्या बढेको र पर्याप्त भौतिक दूरी कायम नगर्दा समस्या उत्पन्न भएको यातायात व्यवस्था कार्यालय सल्लाघारीले जनाएको छ । सेवाग्राहीहरुले भौतिक दूरी कायम नगर्दा, मास्कको प्रयोग र स्यानिटाइजरको प्रयोग नगर्दा जोखिम बढेको हो ।
पछिल्लो समय काठमाण्डु उपत्यकामा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । बिहीबार काठमाण्डु उपत्यकामा २ हजार ५ सय ४० जना कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या ३६ हजार २ सय ८८ पुगेको जानकारी दिए ।




प्रतिक्रिया