काठमाण्डु – नेपाल–चीनको सीमाको स्थलगत अनुगमनका लागि हुम्ला पुगेको नेपाली कांग्रेसको टोलीमाथि अश्रुग्यास प्रहार भएको छ ।
स्थलगत अनुगमनका लागि पुगेको कांग्रेसको टोलीमाथि चिनियाँ पक्षबाट अश्रुग्यास प्रहार भएको हुनसक्ने नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले जानकारी दिए ।
उनले बिहीबार साँझ हिल्सा नजिकै अश्रुग्यास प्रहार भएको पुष्टि गरे । उक्त टोलीले ५, ६, ७ र ८ नम्बर पिलरको निरीक्षण गरेको थियो ।
‘बिहीबार साँझ करिब ५ बजेको समयमा हामी हिल्साबाट फर्किनेक्रममा थियौं । चिनियाँ भवनबाट टियर ग्यास प्रहार भयो तर, हामीले मान्छे चाँही देखेनौं’, उनले भने ।
गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङले आफू काठमाण्डुमा रहेकाले वास्तविकता बुझ्न नपाएको र आफूले पनि समाचारमा हेरेर थाहा पाएको बताए । उनले उपाध्यक्षसँग फोन सम्पर्क हुन नसकेको जानकारी दिए ।
कर्णाली प्रदेश प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीसहितको टोली सीमा निरीक्षणका लागि गएको थियो ।





प्रतिक्रिया