काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले पर्सा जिल्ला कमिटी सदस्य एवम् विन्दवासिनी गाउँ कमिटीका सचिव मुकेश चौरसियाको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ ।
अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बिहीबार एक विज्ञप्ति जारी गर्दै अपराधीलाई अविलम्ब कानुनको कठघरामा उभ्याई हदैसम्मको कार्वाही गर्न माग गरेका छन् ।
‘घटना घटेको एकसाता वितिसक्दा पनि स्थानीय प्रशासनले पिडित परिवारको किटानी जाहेरीसम्म दर्ता गर्न इन्कार गरिरहेको परिदृश्यले घटनालाई थप रहस्यमय बनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अपराधिक घटनाका दोषीलाई काहीँ कतैबाट कुनै प्रकारको राजनीतिक संरक्षण नगर्न सम्वन्धित सवैलाई चेतावनी दिन चाहन्छौं ।’
उनले जस्तोसुकै राजनीतिक खोल ओडेका अपराधी भएपनि अनुसन्धान प्रक्रियालाई निष्पक्ष र दवावरहित ढंगले अघि वढाउन सरकारसँग माग गरेका छन् ।
‘पीडित परिवारको किटानी जाहेरी तत्काल दर्ता गर्न , आरोपितलाई गिरफ्तार गरी छानवीन प्रक्रिया तत्काल अघि वढाउन माग गर्दछौं’, उनले भनेका छन् ।





प्रतिक्रिया