काठमाण्डु – अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत डा. युवराज खतिवडाले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे आफ्नो भूमिका फेरिएको जवाफ दिएका छन् ।
बिहीबार संसदीय सुनवाई समितिमा सांसदहरुको प्रश्नको जवाफ दिँदै डा. खतिवडाले अर्थमन्त्री भएको अवस्थामा भन्दा अहिले अवस्था फेरिएकाले परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार काम गर्ने बताएका हुन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले एमसीसीबारे तपाई कस्तो भूमिका खेल्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा उनले अब आफूले सहजिकरणको भूमिका खेल्ने बताएका छन् ।
‘अहिले मेरो भूमिका परिवर्तन भएको छ । अब परराष्ट्र मन्त्रालयले जे निर्देशन दिन्छ त्यो काम गर्ने हो’, उनले भने, ‘त्यतिबेला कार्यान्वयन योजना अगाडि बढाएपछि एमसीसीमा भएका कतिपय प्रावधान नेपालको कानुनसँग बाझिने हुनसक्ने भएको भन्ने कुरा कानुन मन्त्रालयबाट आएपछि अनुमोदनका लागि संसदमा पठाइएको हो र अहिले सदनमा छ ।’
डा. खतिवडाले नेपाल र अमेरिकाबीच भएका सबै सन्धि सम्झौतालाई आपसी सहकार्यमा अगाडि बढाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भने, ‘दुई देशबीचका सम्झौता र सन्धिहरूलाई व्यवस्थित गर्दै कार्यान्वयनमा लैजानका लागि म भूमिका निर्वाह गर्नेछु ।’
त्यस्तै उनले आफूले मागेर राजदूत पद नलिएको बताएका छन् । खतिवडाले राजनीतिक नियुक्ति राज्यले दिएर आएको बताएका छन् । उनले आफू राजदूत नियुक्त भए आर्थिक कूटनीतिमा ध्यान दिने बताएका छन् ।
‘मैले पद मागेर लिएको होइन । कर्मचारीले प्रमोसन माग्छ तर, मैले कुनै नियुक्त मागेको होइन । राजनीतिक नियुक्ति राज्यले दिएर आएको ’, उनले भने, ‘पदमा नरही गुजारा नचल्ने पनि होइन मेरो । मेरो अनुभवले राज्यले जिम्मेवारी दियो । २०६६ यता जति जिम्मेवारी पाएँ राज्यले दिएको हो ।’




प्रतिक्रिया