विलमिङटन – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन घाइते भएका छन् । बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् ।
बाइडेनको दायाँ खुट्टा मर्किएको र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्ने बाइडेनका चिकित्सकले बताएका छन् । बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना गरिएको थियो ।
बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताएका छन् । तर उनको खुट्टाको सिटी स्क्यान गर्न लागिएको पनि डा केभिनले बताएका छन् ।
बाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि स–सानो दुःखाई पनि जटिल हुन सक्दछ । राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै छन् । उनी अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्नेछन् ।
राष्ट्रपतिमा निर्वाचित बाइडेन परिवारमा २ वटा कुकुर छन् र उनीहरुले दुबैलाई ह्वाइट हाउस लैजाने यसअघि नै बताइसकेका छन् ।




प्रतिक्रिया