प्रचण्डको तरंगित भइरहने स्वभाव र नेपालको अध्यक्ष हुने चाहनाले पार्टीमा संकट आयोः ईश्वर पोखरेल

प्रचण्डको तरंगित भइरहने स्वभाव र नेपालको अध्यक्ष हुने चाहनाले पार्टीमा संकट आयोः ईश्वर पोखरेल


काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पदमोहका कारण पार्टी विभाजन भएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजधानी मजदूर विशेष जिल्ला कमिटीको आयोजनामा पुतलीसडकस्थित जिफन्टको प्रांगणमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली नेतृत्वको नेकपाका सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले एकता गर्दादेखी नै प्रचण्डको पार्टी कब्जा गर्ने रणनीति रहेको आरोप लगाएका छन् ।

उनले प्रचण्डले ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाएर पार्टी कब्जा गर्न खोजेका कारण संकट आएको बताए ।

‘यो कुनै आरोप होइन, एकता गर्दा सुरुदेखि नै दाहालको मानसिकता पार्टी कब्जा गर्नुपर्छ भन्ने थियो । अब पार्टी विधि र पद्दतिबाट चल्छ । कसैले कब्जा गर्न सक्दैन् । नेकपाका दुई अध्यक्षमध्ये एक अध्यक्ष पुष्पकमल दाहालको छिटो तरंगित भइरहने स्वभाव र चाँडोभन्दा चाँडो नेतृत्वमा पुग्ने महत्वाकांक्षाका कारणले यो संकट आइलागेको हो’, उनले भने, ‘त्यस्तै नेकपाका नेता, जो हिजो एमालेको नवौँ महाधिवेशनमा निर्वाचितबाट पराजित हुनुभएका माधवकुमार नेपालको छिटोभन्दा छिटो पार्टी अध्यक्ष हुने चाहनाका हो ।’

मन्त्री पोखरेलले निर्वाचनका बेला ओली नै पाँच वर्ष प्रधानमन्त्री हुने भनेर जनतासँग मत मागेको तर, कार्यकाल बाँकी हुँदै दबाब सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।

‘हिजो निर्वाचनका बेला भावी प्रधानमन्त्री केपी ओली भनेर मत माग्यौँ, जनताले केपी ओलीलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गरे। हामीले यती मत पायौँ’, उनले भने, ‘त्यो कार्यकाल बाँकी नै छ, बीचमै प्रधानमन्त्री हट्नुपर्छ भन्ने दबाब सिर्जना गर्न खोजियो ।’