संसद विघटनविरुद्धको मुद्धामा आज सुनुवाई हुँदै, कुन इजलासले हेर्ला ?

संसद विघटनविरुद्धको मुद्धामा आज सुनुवाई हुँदै, कुन इजलासले हेर्ला ?


काठमाण्डु – संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाई हुँदैछ ।

संसद विघटनविरुद्ध परेको रिटमाथि गएको बुधबारदेखि नै सुनुवाई सुरु हुने भनिए पनि तोकिएको संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीले आफू इजलासमा नबस्ने घोषणा गरेपछि आजका लागि पेशी तोकिएको हो ।

केही बेरमा सर्वोच्च अदालतले सुनुवाइका लागि प्रधानन्यायाधीशसहित अरू ४ जना न्यायाधीशको पेसीसूची सार्वजनिक गर्नेछ । बुधबारको सुनुवाइमा प्रधानन्यायाधीश बाहेक को–को न्यायाधीश इजलासमा पर्नेछन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

यस सम्बन्धी रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलासमा भन्ने विवाद छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । सो विवाद कहाँ सुनुवाइ गर्ने भन्ने पनि आजै टुंगो लाग्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको भन्दै परेका रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ ।