काठमाण्डु – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा अोलीले आफू निकट सबै तहका कमिटी सदस्यहरुलाई निर्देशनसहित परिपत्र गरेका छन् ।
प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते हुने आम निर्वाचनको तयारी भइरहेकाले निर्वाचन आयोगको कार्यतालिकालाई सहयोग गर्न सबै कमिटीहरुलाई निर्देशन दिएका छन् ।
‘निर्वाचन आयोगलगायत राज्यका सम्बद्ध निकायहरुरु निर्वाचनको तयारीमा जुटिसकेका छन् । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग परामर्श शुरु गरिसकेको छ । छिट्टै निर्वाचन कार्यक्रम सार्वजनिक हुने जानकारी दिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘मतदाता नामावलीमा कुनै मतदाताकोे विवरण हटाउनुपर्ने भएमा सोका लागि उजुरी निवेदन दिने प्रयोजनका लागि माघ १६, १७ र १८ गतेको मिति निर्धारण भएको छ । सो अवधिभित्र आ–आफ्नो कार्यक्षेत्रका मतदातालाई सुसुचित गर्न, मतदाता नामावलीमा कुनै त्रुटी भए सच्याउन, झुट्ठा विवरण दिई मतदाता नमावलीमा नाम समावेश गरेको भए त्यस्तै नामावली हटाउन र दोहोरो नाम हटाउनका लागि निवेदन वा उजुरी दिन र निर्वाचन प्रक्रियामा आमजनतामा जागरण र सहभागिता अभिवृद्धि गर्न जरुरी छ ।’
उनले सोही कामका लागि सबै तहका कमिटी सदस्यहरुलाई योजनाबद्ध, सक्रिय एवं प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।
प्रधानामन्त्री ओलीले आगामी निर्वाचनका लागि पार्टीले जारी गरेको घोषणा पत्रमा समेट्नुपर्ने विषयहरुका सम्बन्धमा सबै तहका पार्टी कमिटी, पार्टी सदस्य, जनसंगठन, शुभेच्छुकहरुलाई फागुन मसान्तभित्र माथिल्लो कमिटीमार्फत केन्द्रीय कमिटीलाई सुझाव पठाउन निर्देशन दिएका छन् ।





प्रतिक्रिया