म मेरो नैतिकतामा अडिग छु, प्रधानमन्त्रीसँगको भेटबारे भ्रममा नपर्नुस्ः लेनिन विष्ट

म मेरो नैतिकतामा अडिग छु, प्रधानमन्त्रीसँगको भेटबारे भ्रममा नपर्नुस्ः लेनिन विष्ट


काठमाण्डु – पूर्व माओवादी लडाकु लेनिन विष्टले प्रधानमन्त्री ओलीसँगको भेटबारे भ्रममा नपर्न आग्रह गरेका छन् ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्तापछि माओवादी पूर्व लडाकुका दुवै संगठन ओली नेतृत्वको नेकपामा प्रवेश गरेको भन्ने समाचार सार्वजनिक भएपछि विष्टले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीसँगको भेटबारे केही मिडियाले बंग्याएर समाचार प्रसारण गरेको भन्दै त्यसबारे कुनै भ्रममा नपर्न आग्रह गरेका हुन् ।

उनले प्रधानमन्त्री पद सबैको साझा भएको र सबै जनताको केन्द्रविन्दु भएकोले प्रधानमन्त्रीको आग्रहमा बालुवाटार गएको बताएका छन् । साथै उनले जनताका माग राज्यसंग राख्नुपर्ने बाध्यताले प्रधानमन्त्रीसंगको भेटलाई स्वभाविक रुपमा लिन आग्रह समेत गरेका छन् ।

‘अहिलेसम्म सत्तारुढ नेकपा बैधानिक रुपमा फुटिसकेको छैन । सत्तारुढ दलको अध्यक्ष र प्रधानमन्त्री पदमा भएकाले हामीले उठाएका माग उहाँ समक्ष राखेका हौं र राख्न पाउनु हाम्रो अधिकार हाे,’ उनले भनेका छन्, ‘ राज्यले दिएको यो अधिकारलाई मैले र मेरा साथीहरुले प्रधानमन्त्री समक्ष राखेका हौं । भेटघाटको क्रममा प्रधानमन्त्री ओली ज्यूले हाम्रा माग संबोधन गर्ने बचन दिनुभएको छ । हामी यसमा सकारात्मक छौं ।’

उनले तमाम पीडित लडाकुका माग राख्ने क्रममा राज्य पक्षसंग बिभिन्न कोणबाट पहल गर्दै आएको बताउँदै आफुप्रति लागेको लान्छाना झुठ्ठाे भएको बताएका छन् ।

उनले भनेका छन्, ‘म प्रति लागेका लान्छाना झुठ्ठा छन् । यसमा विश्वास नगर्न सबैलाई अनुरोध गर्न चाहन्छु । मैले पीडित लडाकुका तर्फबाट कुनै व्यक्तिगत फाइदा लिएको छैन र भविस्यमा लिने पनि छैन । सरकारले सम्पुर्ण पीडित लडाकुका माग पुरा गर्नुपर्छ भन्ने मागमा म सधैं दृढ रहने बचनबद्धता प्रकट गर्न चाहन्छु । हरेक कुराका बास्तविकता एकातिर हुन्छ भने, अबास्तविक कुरालाई फैलाएर समाजमा भ्रम फैलाउँदा नोक्सान बाहेक केहि हुँदैन । अहिलेसम्म म मेरो नैतिकतामा अडिग छु र भविस्यमा न्यायका लागि सधैं पीडितको पक्षमा लड्ने सबैलाई विस्वास दिलाउनु चाहन्छु ।’