काठमाण्डु – नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले उपप्रधानमन्त्री ईश्वर पोखरेलसंग शिष्टाचार भेट गरेकी छन् । भेटका क्रममा उपप्रधानमन्त्री पोखरेल र राजदूत पोलिटबीच नेपाल र संयुक्त अधिराज्यबीच रहेको मित्रता र द्विपक्षीय सहयोगका विविध पक्षका सम्बन्धमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।
भेटमा उपप्रधानमन्त्री पोखरेलले नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दीदेखिको महत्वपूर्ण र निरन्तर सम्बन्ध रहेको चर्चा गरे । बेलायती राजदूतले नेपालले जोखिममा रहेका आफ्ना नागरिकका लागि शुरू गरेको कोभिड-१९ विरुद्धको खोप अभियानको सराहना गर्दै नेपाललाई यस अभियानमा सहयोग गर्न संयुक्त अधिराज्य ईच्छुक रहेको जानकारी गराईन ।
उनले नोभेम्बर २०२१ मा संयुक्त अधिराज्यको ग्लासगोमा हुन गईरहेको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेपालको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरिन । उक्त भेटका क्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्रस्थापना गरी सम्बन्धित मन्त्रालयहरु मार्फत् सो रोगको नियन्त्रण, रोकथाम र उपचारका लागि चालेको अभियानले रोग पहिचान र नियन्त्रण प्रभावकारी भएको जानकारी दिएका थिए ।
संयुक्त अधिराज्यबाट नेपालको विकासमा भैरहेको सहयोग र कोभिड-१९ को उपचारका निमित्त सहयोग गर्ने प्रतिबद्धताका लागि नेपाल सरकारको तर्फबाट पोखरेलले धन्यवाद व्यक्त गरेका थिए । भेटमा उपप्रधानमन्त्री पोखरेलले नेपालको समृद्धि, स्थिरता र विकासको अभियानमा संयुक्त अधिराज्यको निरन्तर सहयोग रहने अपेक्षा समेत व्यक्त गरेका थिए ।




प्रतिक्रिया