रोशन खड्का, काठमाडौं– नेपाली सेनाले मंसिर १० र २१ गते हुने निर्वाचनमा विशिष्ट सुरक्षा थ्रेट नभएको निष्कर्श निकालेको छ । सैनिक मुख्यालयमा विहिवार सम्पन्न सेनाको एक दिने पृतनापति सम्मेलनमा पृतनापतिहरुले निर्वाचन शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न सकिने भन्दै स्थिती आठै प्रदेशमा सामान्य भएको निष्कर्श निकालेको छ ।
सेनाको दुई नम्बर प्रदेशका पृतनापति उपरथी ईश्वर हमालले तराईमा सिके राउतको न्युन प्रभाव भएको रिपोर्टिङ गरेका थिए । उनले सिके रावतको मतपत्र वाहिर छाप लगाउने अभियानलाई जनताले नै अस्विकार गरेको भन्दै उनी सुरक्षा थ्रेटको रुपमा नरहेको दाबी गरेका थिए ।
बैठकमा उनको भनाई उद्दृत गर्दै सैनिक स्रोतले भन्यो ‘सिके रावत जनताद्धारा नै बहिस्कृत भइसके, उनले टाउको उठान खोजे भने स्थिती नियन्त्रणमा लिन सकिन्छ,तराईमा अरु त्यस्तो सुरक्षा थ्रेट छैन् । ’ दोस्रो चरणको चुनाव तराईमा शान्तिपूर्ण तरिकाले सम्पन्न हुने उपरथी हमालको विश्लेषण थियो ।
त्यसैगरी प्रदेश नम्बर ६ का पृतनापति उपरथी कर्मेन्द्र लिम्वुले विप्लव नेतृत्वको माओवादीको गतिविधी एकदमै न्युन रहेको बताएका थिए । उनले उनका गतिविधीहरुमाथी सेनाले निगरानी गरिरहेको भन्दै विप्लव ठुलो सुरक्षा थ्रेटको रुपमा नरहेको बताएका थिए ।
‘भौगलिक रुपमा विकटता भएकाले हामीले स्रोत–साधन धेरै परिचालन गर्नुपर्नेछ, तर, ६ नम्बर प्रदेशको अवस्था सामान्य नै छ ।’ उपरथी लिम्बुको भनाई उदृत गर्दै स्रोतले भन्यो ।
सैनिक गूप्तचर प्रमुख जगदिशचन्द्र पोखरेलले विप्लव समुहले चुनाव विथोल्न प्रयास गर्न सक्ने विश्लेषण बैठकमा सुनाएका थिए । उनले विप्लवले यसअघि झै चुनावमा अपहरण गर्ने,निर्वाचन बहिस्कार गर्ने र साना तिना अवरोध सिर्जना गर्न सक्ने सम्भावना भएको भन्दै त्यस्ता गतिविधीलाई निरुत्साहित गर्नुपर्ने धारणा राखेका थिए ।
उनले केही समयअघि सम्पन्न स्थानिय चुनावमा भएका जस्ता छिटपुट गतिविधी दोहोरिन सक्ने भन्दै त्यसलाई ध्यान दिनुपर्ने बताएका थिए । उनले देशमा बनेको राजनितिक गठवन्धनले सुरक्षामा कुनै चुनौती नथपिने विश्लेषण समेत गरेका थिए ।
सैनिक मुख्यालयमा बिहिवार करिव ८ घण्टा चलेको पृतानपतिहरुको सम्मेलनमा सेनाका विभिन्न विभागहरुबाट वस्तुस्थितिको विश्लेषण तथा समिक्षा प्रस्तुत भएको थियो भने सबै पृतनापतिहरुले आ–आफ्ना जिम्मेवारी क्षेत्रको निर्वाचन सुरक्षा योजना सम्बन्धी प्रस्तुतिकरण गरेका थिए ।

तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध छ : रक्षामन्त्री प्रधान
सम्मेलनमा रक्षामन्त्री भिमसेन दास प्रधानले प्रतिनिधीसभाको चुनाव सफल पार्न सेना सक्षम हुने बताएका थिए । उनले विगतमा सम्पन्न विभिन्न निर्वाचनहरुको साथै स्थानीय तहको गत निर्वाचनका विभिन्न चरणमा, सुरक्षा सम्बन्धी जिम्मेवारी सेनाले अत्यन्त प्रभावकारी रुपमा निर्वाह गरेको भन्दै आगामी मंसिरमा हुने निर्वाचनमा सेनाको भुमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।
सम्बोधनकै क्रममा रक्षामन्त्री प्रधानले आगामी मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा तोकिएको समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए ।
उनले विगतको अनुभव र आफ्नो पेशागत दक्षताका आधारमा निर्वाचन सुरक्षाको जिम्मेवारी निर्वाह गर्न नेपाली सेना सफल रहने कुरामा पूर्णरुपमा विश्वस्त रहेको समेत बताए ।
सैनिक मुख्यालयको निर्देशनबमोजिम पृतनापतिहरुले योजनाबद्ध रुपमा फौज परिचालनका साथै सम्बन्धित अन्य निकायहरुसंग समन्वय र सहकार्य गर्दै निर्वाचन सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्न पनि रक्षामन्त्रीले निर्देशन दिएका थिए ।

चुनावमा सुरक्षा दिन सेना सक्षम छ : प्रधानसेनापति क्षत्री
कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले आगामी मंसिर १० र २१ गते हुने निर्वाचनमा कुनै कसर नराखि नेपाली सेनाले शान्तिपूर्ण ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दाबी गरेका छन् ।
प्रधानसेनापति क्षत्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले विगतको निर्वाचन तथा विपद्को समयमा भरपर्दो र विश्वसनीय फौजको छबी राख्न सफल भएको दाबी समेत गरेका छन् ।
उनले आसन्न निर्वाचनलगायत आउदा दिनहरुमा सुरक्षा चुनौतीहरुलाई सहजताका साथ लिई व्यवसायिक ढङ्गले सफलतापूर्वक सम्पन्न गरी नेपाली सेनाको छबिलाई उच्च राख्न समेत पृतनापतिहरुलाई निर्देशन दिएका छन् ।
सम्मेलनमा निमित्त रक्षासचिव ऋषि राजभण्डारी, सबै पृतनापतिहरु लगायत जङ्गी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।
सैनिक प्रवक्ता सहायकरथी नैनराज दाहालले निर्वाचनको सुरक्षामा सेनाले कुनै कसर बाकि नराख्ने दाबी गरे । उनले सबै खालको सुरक्षा चुनौतीको सामना गर्न सेना सक्षम रहेको बताए ।
नेपाली सेनाले यस किसिमको छलफल र आपसी अन्तरक्रियाको माध्यमबाट प्राप्त रचनात्मक सुझावले आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई सफलताकासाथ सम्पन्न गराउन मद्दत पुग्ने दाबी गरेको छ ।
त्यसका साथै सेनाको रचनात्मक भूमिकाले सम्पूर्ण निर्वाचन क्षेत्रहरुमा मतदान पूर्व, मतदानको समय र मतदान पश्चात्समेत निर्वाचनमा भाग लिने मतदाता, उम्मेद्वार, कर्मचारी तथा सर्बसाधारण जनतामा भयरहित बातावरण श्रृजना भई सबैले आ–आफ्नो तर्फबाट उत्साहपूर्वक निर्वाचनमा सहयोगि भूमिका निर्वाह गर्ने विश्वास पनि सेनाले लिएको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।




प्रतिक्रिया