पशुपतिनाथले लोकतन्त्रको हत्या गर्ने केपी ओलीको रक्षा गर्दैनन् : माधव नेपाल

पशुपतिनाथले लोकतन्त्रको हत्या गर्ने केपी ओलीको रक्षा गर्दैनन् : माधव नेपाल


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चुनाव चिन्ह बयलगाडा भएको बताएका छन् ।

बुधबार राजधानीमा भएको जनसभामा बोल्दै अध्यक्ष नेपालले सूर्य चिन्ह आफूहरुको बताउँदै प्रधानमन्त्री अ‍ोलीको चुनाव चिन्ह बयलगाडा भएको बताए ।

‘चुनाव चिन्ह सूर्य हामीसँग छ । केपी ओलीको त बयलगाडाको चिन्ह हो,’ उनले भने, ‘कसैले देओस नदेओस केपी ओली ताज पहिरिएर राजा भएर हिँडेका छन् । उनका कुरालाई पत्याउन जरुरी छैन् ।’

उनले देशका विभिन्न ठाउँमा भइरहेका बलात्कार घटनामा प्रधानमन्त्री ओली नेतृत्वको सरकारले कारवाही गर्न नसकेको बताए ।

‘जुन पार्टीले प्रधानमन्त्री पदमा पुर्‍यायो त्यही पार्टी सिध्याउन तिमी लागिरहेका छौं । लोकतन्त्र समाप्त पार्न लागेका छौं, तिमीलाई धिक्कार छ,’ अध्यक्ष नेपालले भने, ‘आम नेपाली जनताले भनिरहेका छन् केपी ओलीलाई धिक्कार छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले मदन भण्डारीलाई बिर्सिएर पशुपतिनाथको मन्त्र जप्न थालेको बताएका छन् ।

‘पशुपतिनाथले राम्रो, असल मान्छेको मात्रै भलो गर्छ । पशुपतिनाथले पापीलाई भलो गर्दैनन् चेतना भया । लोकतन्त्रको हत्या गर्ने, संविधानको हत्या गर्ने केपी ओलीको रक्षा गर्दैनन्,’ उनले भने, ‘केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा आज यो विशाल विरोध सभा भएको छ । केपी ओलीजी तपाईँले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ अब त्यो नाम पनि विर्सिसक्नुभएको छ ।’

उनले प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई धम्क्याउने काम गरिरहेको दाबी गरे ।