पेरिस- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले ‘गणतन्त्रलाई ढाल्न खोज्नेहरू’लाई जवाफदेही बनाउने बताएका छन्। पाँच लाख प्रदर्शनकारी सहभागी भएको आन्दोलनका क्रममा देशका विभिन्न भागमा अशान्ति फैलिएको थियो।
आइतबार इटालीसम्म तनाव फैलियो। मिलानमा प्रदर्शनकारीले बोतल प्रहार गरे, पसल लुटे र सार्वजनिक सम्पत्तिमा तोडफोड गरे।
हिंसात्मक घटनालाई सम्बोधन गर्न इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले आकस्मिक सुरक्षा बैठक बोलाइन्। मिलानका दृश्य पेरिसमा भएको अराजकता र लुटपाटसँग मिल्दोजुल्दो थियो।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्समा भएको अशान्तिका लागि आप्रवासनलाई दोष दिएका थिए। उक्त हिंसामा ऐतिहासिक टाउन हलमा आगजनी भएको थियो, व्यापारिक प्रतिष्ठान लुटिए र सयौँ मानिस घाइते भए।
सप्ताहान्तमा मिलान र लिस्बनसम्म अशान्ति फैलिएको बेला ट्रम्पले आफ्नो ट्रुथ सोसलमा लेखेका थिए, ‘फ्रान्स जलिरहेको छ! पूर्णतः फरक संसारबाट आएका, मनमा घृणा बोकेका मानिसहरूको आप्रवासनले कुनै समयको महान् देशलाई तहसनहस पारेको छ। ढिलो हुनुअघि सीमा बन्द गर्नुहोस् र नियन्त्रण आफ्नो हातमा लिनुहोस्!’
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र वासिङ्टनबीच सम्पर्क सूत्रको भूमिका निर्वाह गर्दै आएका किरिल दिमित्रिएभले भने, ‘वामपन्थी विश्ववादीहरूले आप्रवासनबाट उत्पन्न अराजकता फैलाइरहेका छन्।’
कर्मचारी अभावको विरोधमा शिक्षक र विद्यार्थीले एक महिनाअघि प्रदर्शन सुरु गरेका थिए। पछि यो आन्दोलन बढ्दो मूल्यवृद्धिविरुद्धको व्यापक अभियानमा परिणत भयो।
कठोर वामपन्थी दल ‘फ्रान्स अनबाउन्ड’का नेता जो-लुक मेलोसोंजस्ता अतिवादी राजनीतिज्ञ र कार्यकर्ता पनि आन्दोलनमा सहभागी भएका छन्।
सप्ताहान्तका दृश्यमा फ्रान्सका प्रदर्शनकारीले महँगा सामान चोर्न पसलका सिसा फुटाउँदै गरेको देखियो। यसलाई ‘अनियन्त्रित हिंसा’ भनिएको छ।
मुख छोपेका दर्जनौँ युवक क्रिस्चियन डिओर र लुई भितोंजस्ता महँगा पसलमा पसेको भिडियोमा देखिन्छ। उनीहरूले महँगा गहना र लुगाका र्याकहरू खाली पारेका थिए।
राष्ट्रपति म्याक्रोंले देशलाई ‘अनियन्त्रित हिंसा’मा धकेल्ने काम ‘अतिवामपन्थी समूहका उक्साहटकर्ता र उनीहरूसँग मिल्ने धेरै अपराधी’ले गरेको आरोप लगाए।
अराजकता फैलिएको सप्ताहान्तपछि उनले ‘एकताको’ अपिल गरे। घटनामा करिब २,४०० जना पक्राउ परे भने झन्डै १,००० प्रहरी र सुरक्षाकर्मी घाइते भएका थिए। तीमध्ये सात जनाको अवस्था गम्भीर थियो।

मिलानमा शनिबार जीवनयापनको बढ्दो खर्चविरुद्धको अनुमति प्राप्त प्रदर्शनको छेउछाउमा झडप सुरु भएको थियो। अन्य प्रदर्शनपछि उत्तरी सहर बोलोन्या र टुरिनमा पनि यस्तै घटना भए।
सहरी अशान्तिपछि प्रहरीबाट भाग्दै गरेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदै प्रहरी। मिलानमा धेरै युवा प्रदर्शनकारी पक्राउ परे।
मिलानमा प्रदर्शनकारीहरू भेला भए। देशकी प्रधानमन्त्रीले घटनाको कडा शब्दमा निन्दा गरिन्।
दोस्रो दिनको दङ्गाका क्रममा प्रहरीले धेरैलाई पक्राउ गरेपछि मिलानको सडकमा गुलाबी धुवाँ फैलिएको थियो।
मिलानमा पसलमा तोडफोड गर्दै गरेका धेरै प्रदर्शनकारीले अनुहार छोपेर गाढा रङका कपडा लगाएका देखिए।
हिंसात्मक प्रदर्शनका क्रममा अश्रुग्यासले मिलानको ऐतिहासिक क्याथेड्रल (डुओमो दी मिलानो) ढाकिएको थियो।
आइतबार प्रहरीले मिलानको चोकमा रहेका समूहलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्यो। सार्वजनिक तस्बिरहरूमा मास्क लगाएका धेरै युवाले प्रहरीका गाडीमा सामान फ्याँकिरहेको देखियो।
डुओमो चोकबाट निस्कने व्यस्त सडकको एउटा सुपरमार्केट लुटियो। फोहोरका डब्बा पल्टाइए भने स्कुटर र साइकलमा तोडफोड गरियो।
मिलानका मेयर जुसेप्पे सालाले आफूले फुटाइएका पसलका झ्याल, लुटिएका पसल र भयभीत नागरिक देखेको बताए। ‘यहाँ जे भयो, त्यही हामी संसारका धेरै सहरमा देखिरहेका छौँ,’ उनले भने।
“म निकै चिन्तित छु, किनकि यो नयाँ खालको घटना हो। यसको जरा अन्तर्राष्ट्रिय परिस्थितिमा पनि छ, जसले यसलाई अझ फैलाउँछ।’
प्रधानमन्त्री मेलोनीले शनिबार तोडफोड गर्नेहरूलाई ֯प्रदर्शनको फाइदा उठाएर अराजकता फैलाउने, सुरक्षाको जिम्मा लिनेहरूलाई आक्रमण गर्ने र पूरै सहरलाई बन्धक बनाउने गुन्डा’ भनिन्।
‘प्रदर्शन गर्नु अधिकार हो। हाम्रा सहरलाई उजाड बनाउनु अधिकार होइन,’ उनले एक्समा लेखिन्।
सरकारका मन्त्रीहरूले पनि आक्रमणको निन्दा गरे। कठोर दक्षिणपन्थी लिग पार्टीका प्रमुख तथा उपप्रधानमन्त्री मत्तेओ साल्भिनीले ती दृश्यलाई ‘सहरभित्रको युद्ध’ भने।
प्रदर्शनकारीका ब्यानरमा उच्च तलब र पेन्सनको माग गरिएको थियो। बढ्दो आवास खर्च र इन्धनको मूल्य पनि उनीहरूको मुख्य चिन्ता थियो। आन्दोलन पोर्चुगलको लिस्बनमा पनि पुगेको छ।

फ्रान्समा हिंसात्मक प्रदर्शनका क्रममा भएको झडप, आगजनी र लुटपाटपछि सयौँ पक्राउ परे। यहाँ आगलागीपछिको भयावह दृश्य देखिन्छ। अहिले युरोपेली नेताहरूले हिंसात्मक अशान्ति रोक्न पर्याप्त काम गरिरहेका छन् ।
उता पोर्चुगलमा पनि अशान्तिको प्रभाव देखियो। सप्ताहान्तमा लिस्बनको केन्द्रस्थित रोसियो चोकमा प्रदर्शनकारीले आवास अभाव, बढ्दो भाडा र कम ज्यालाविरुद्ध प्रदर्शन गरे।
ब्यानरमा उच्च तलब र पेन्सनको माग गरिएको थियो। प्रदर्शनकारीले बढ्दो आवास खर्च र इन्धनको मूल्यलाई पनि प्राथमिकतामा राखेका थिए।
उता आइतबार राति टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दै म्याक्रोंले भने, ‘यी तस्बिर हेर्दा हामी सबैले आफूलाई सोधेका छौँ—फ्रान्सेलीहरूले फ्रान्समाथि यस्तो कसरी गर्न सक्छन् ? यसलाई कुनै कुराले जायज ठहर्याउँदैन, कुनै कुराले व्याख्या गर्दैन, कुनै कुराले माफी दिन सक्दैन। लुटपाट गर्नेहरूले क्षतिको भरपाई गर्नुपर्नेछ। गणतन्त्रलाई ढाल्न खोज्नेहरूलाई जवाफदेही बनाइनेछ।’
सबैभन्दा नाटकीय दृश्यमध्ये एक थियो—१४० वर्ष पुरानो लिमोज टाउन हलको ऐतिहासिक घण्टाघर आगोको लप्कामा भत्किँदै गरेको। आइतबार सहरका मेयर गियोम गेरेँले ‘केटाकेटीलाई उक्साएर उत्तेजित बनाउने’ अतिवादीहरूको आलोचना गरे।
उनले भने, ‘सबै कुरा मिलाउने, ढोका फोर्न प्रयोग हुने औजार ल्याउने, झ्याल फुटाउने र यो टाउन हलमा पस्न बेसमेन्टका प्रवेशद्वार पत्ता लगाउनेहरू केटाकेटी होइनन्। उनीहरू युद्ध छेड्न सङ्गठित भएका मानिस हुन्।’
उनले थपे, ‘हिजो टाउन हलमा भएको आक्रमणको पछाडि रहेको व्यवस्थापन, सङ्गठन र पूर्वयोजना असह्य छ।’
पेरिसबाट अर्को चर्चित दृश्यमा एक महिला प्रदर्शनकारीले किराना पसल लुट्न खोज्ने समूहलाई रोक्ने प्रयास गरिन्। फुटेको ढोकाअगाडि उभिएर उनले उनीहरूलाई पस्न नदिँदै भनिन्, ‘तिमीहरू किन यस्तो गरिरहेका छौ ? रोक ! यो हाम्रो आन्दोलनको उद्देश्य होइन!’ तर मुख छोपेका प्रदर्शनकारीले उनलाई पन्छाउँदै पसलभित्र पसे।
जुत्ता र स्मार्टफोन बेच्ने पसलहरू लुटपाटको विशेष निशानामा परे। धेरै लुटेरा भाडाका विद्युतीय साइकलमा एक ठाउँबाट अर्को ठाउँ पुगेका थिए।
‘त्यो प्रलयजस्तै थियो,’ एक प्रहरी कमान्डरले ‘ले पेरिसियाँ’ पत्रिकालाई भने, ‘देशभर एकैपटक भएका धेरै आक्रमणलाई सुरक्षा निकायले नियन्त्रण गर्न सकेन।’
म्याक्रोंको सम्बोधनपछि दङ्गाकारी र लुटेराहरू फेरि पेरिसका सडकमा फर्किए। उनीहरूले सडक अवरोध बनाए र प्रहरीसँग दौडधुपसहितका झडप गरे। ‘हामी यहाँ म्याक्रोंले राजीनामा दिनुपर्छ भनेर आएका हौँ,’ एक प्रदर्शनकारीले भने।




प्रतिक्रिया