काठमाण्डु – भारतीय गृहमन्त्री अमित शाहको भनाई उद्धृत गर्दै त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको विवादास्पद अभिव्यक्तिबारे नेपालले आपत्ति जनाएको छ ।
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले गृहमन्त्री शाहले दिएको अभिव्यक्तिबारे आपत्ति जनाउँदै भारतीय अधिकारीहरुको ध्यानाकर्षण गराएका छन् । राजदूत आचार्यले भारतीय विदेश मन्त्रालयमा पुगेर यसविषयमा भएको के हो ? भन्दै ध्यानाकर्षण गराएका हुन् ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उक्त विषयमा राजदूत आचार्यले ध्यानाकर्षण गराएको पुष्टि गरेकी छन् ।
केहीदिनअगाडि त्रिपुराका मुख्यमन्त्री विप्लवले गृहमन्त्री अमित शाहले भारतीय जनता पार्टीले नेपाल र श्रीलंकामा आफ्नो सरकार बनाउने योजना रहेको बताएको कुरा सार्वजनिक गरेका थिए ।
‘राज्य सरकारको गेस्ट हाउसमा चलेको छलफलमा अजय जमवाल (भाजपाको उत्तरपूर्व क्षेत्र सचिव)ले आफ्नो पार्टी भारतका धेरै राज्यमा सरकार बनाउन सफल भएको बताएपछि त्यसको जवाफमा शाहले अब श्रीलंका र नेपाल मात्र बाँकी रहेको हुँदा ती दुई देशमा पनि पार्टी विस्तार गरेर सरकार बनाउन जित्नुपर्छ भन्ने योजना सुनाउनुभयो,’ देवले भनेका थिए ।
यसबारे गृहमन्त्री शाहले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । त्यसपछि भारतको चर्को विरोध हुँदै आइरहेको छ । यसविषयमा श्रीलंकाले पनि आपत्ति जनाएको छ ।
त्यस्तै भारतीय कांग्रेसका नेता राहुल गान्धीले उक्त अभिव्यक्ति छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने हेतुले आएको भन्दै विरोध जनाएका छन् ।




प्रतिक्रिया