काठमाण्डु – नेपाल मामिलाका विज्ञ प्राध्यापक एसडी मुनीले नेपाल र श्रीलंकाविरुद्ध दिएको अभिव्यक्ति भारतीय गृहमन्त्री अमित शाहले फिर्ता लिनुपर्ने बताएका छन् ।
बुधबार ट्वीटरमार्फत एसडी मुनीले गृहमन्त्रीको टिप्पणीले नेपाल र श्रीलंकाको राज्य संरचनामा हस्तक्षेप गर्ने बताएका छन् । मुनीले यस्ता अभिव्यक्तिहरुले क्षेत्रीय सहयोग र एकीकरणको विपक्षमा रहेको स्पष्ट पार्ने भएकाले उक्त भनाई फिर्ता लिन आग्रह गरेका छन् ।
‘अमित शाहले ‘नेपाल र श्रीलंकामा भाजपा शासन’ बारे दिएको अभिव्यक्तिहरुले डा जयशंकरको क्षेत्राधिकार साथै सार्वभौमिकता र छिमेकीहरूको राज्य संरचनामा हस्तक्षेप गर्दछ । क्षेत्रीय सहयोग र एकीकरणको विपक्षमा रहेका टिप्पणीहरू स्पष्ट पार्ने र फिर्ता लिनुपर्छ’, उनले भनेका छन् ।
केहीदिनअगाडि त्रिपुराका मुख्यमन्त्री विप्लवले गृहमन्त्री शाहले भारतीय जनता पार्टीले नेपाल र श्रीलंकामा आफ्नो सरकार बनाउने योजना रहेको बताएको कुरा सार्वजनिक गरेका थिए ।
भारतीय गृहमन्त्री अमित शाहको भनाई उद्धृत गर्दै त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको विवादास्पद अभिव्यक्तिबारे नेपालले आपत्ति जनाएको छ ।
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले गृहमन्त्री शाहले दिएको अभिव्यक्तिबारे आपत्ति जनाउँदै भारतीय अधिकारीहरुको ध्यानाकर्षण गराएका छन् ।
‘राज्य सरकारको गेस्ट हाउसमा चलेको छलफलमा अजय जमवाल (भाजपाको उत्तरपूर्व क्षेत्र सचिव)ले आफ्नो पार्टी भारतका धेरै राज्यमा सरकार बनाउन सफल भएको बताएपछि त्यसको जवाफमा शाहले अब श्रीलंका र नेपाल मात्र बाँकी रहेको हुँदा ती दुई देशमा पनि पार्टी विस्तार गरेर सरकार बनाउन जित्नुपर्छ भन्ने योजना सुनाउनुभयो,’ देवले भनेका थिए ।
यसबारे गृहमन्त्री शाहले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । त्यसपछि भारतको चर्को विरोध हुँदै आइरहेको छ । यसविषयमा श्रीलंकाले पनि आपत्ति जनाएको छ ।
त्यस्तै भारतीय कांग्रेसका नेता राहुल गान्धीले उक्त अभिव्यक्ति छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने हेतुले आएको भन्दै विरोध जनाएका छन् ।




प्रतिक्रिया