विवेकशील साझाले माग्यो राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा

विवेकशील साझाले माग्यो राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवेकशील साझा पार्टीले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।

संसद पुर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै साझाले अब प्रधानमन्त्री र राष्ट्रपतिले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपति भण्डारीले पुस ५ गते गरेको असंवैधानिक संसद विघटन हिजो मंगलबार सर्वोच्च अदालतले बदर गरेको थियो ।

‘विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी सांसदबाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्दछ,’ साझाका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडी लेखिएको छ, ‘संविधानको रक्षा गर्ने दायित्वलाई रतिभर ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई रबर स्ट्याम्प सरह सदर गर्दै साथ दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनु पर्दछ ।’

अन्यथा साझा पार्टीले राष्ट्रपति पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर भण्डारीलाई पदमुक्त गर्न संसद्मा रहेका सम्पूर्ण दल र सांसदहरूलाई आह्वान गर्ने बताएको छ । साथै पछिल्लो समय असंवैधानिक ढङ्गले गरिएका सम्पूर्ण नियुक्तिहरू खारेज गर्न पनि विवेकशील साझा पार्टीले माग गरेको छ