काठमाण्डु – शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने प्रष्ट पारेका छन् ।
बुधबार सिटिइभीटीको ३३ र्औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव फेस गर्ने बताएका हुन् ।
उनले सर्वोच्च अदालतले गरेको निर्णयलाई आफूहरुले सम्मान गर्ने बताउँदै यो निर्णयले झन् विवाद बढाएको बताए । मन्त्री श्रेष्ठले पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाललाई प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन पनि चुनौती दिएका छन् ।
‘हामी कायर हो र, राजीनामा दिन ?, कुनैपनि हालतमा राजीनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ । संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताउनु भएको छ । सक्छौ भने अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाऊ’, उनले भने ।
उनले संसद पुनःस्थापना भए पनि अबको प्रधानमन्त्री केपी ओली नै हुने ठोकुवा गरेका छन् । मन्त्री श्रेष्ठले प्रधानमन्त्री अोलीले नै आगामी निर्वाचन गराउने विश्वास व्यक्त गरे ।
‘अबको प्रधानमन्त्री पनि केपी ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहुन्छ । अब सबै खेल मैदानबाट छिनोफानो हुनेछ । अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको छ । हामी मैदानमा उत्रिएका छौं, खेल खेल्ने तयारीमा छौं, हामीले गोल गरेरै देखाउँछाैं ,’ उनले भने, ‘नेपालको राजनीतिका पेले, रोनाल्डो, म्यारोडोना र मेसी हामीसँगै छन् । जस्तोसुकै परिस्थिति आए पनि राजनीतिक मैदान छाड्नेवाला छैनौं, हाम्रै जीत सुनिश्चित हुनेछ । जनता हाम्रो साथमा छन्, जनताको फैसला स्वीकार गर्नेछौं ।’




प्रतिक्रिया