काठमाण्डु – सामाजिक न्यायका लागी महिला सञ्जालले नेकपाका नेता रघुजी पन्तको अभिव्यक्ति विरूद्द घोर आपत्ती जनाएको छ ।
महिला सञ्जालले सोमबार एक विज्ञप्ति जारी गर्दै नेकपाका नेता पन्तले राष्ट्रिय सभा सदस्य कोमल वलीबारे दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएको हो ।
शनिबार नेकपाको कार्यकर्ता भेलाको कार्यक्रममा नेता पन्तले कोमल वली ‘पीडुला देखाएर सांसद भएको’ भन्ने विवादित अभिव्यक्ति दिएका थिए ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘महिलाको राजनीतिक स्वतन्त्र पहिचान र आत्मसम्मानलाई पुरुषसँगको निकटताले मात्रै उचाईँमा पुर्याउन सक्छ भन्ने अभिप्राय प्रकट भएका उनका पूर्वाग्रही र अपमानजनक भनाईको हामी घोर भत्सर्ना गर्दछौं ।’
सञ्जालले महिलाको शरीर र यौनिकतालाई केन्द्रबिन्दु भनाई राजनितीमा संलग्न महिलाको खिल्ली उडाउने, कुनै पनि व्यक्तिको आत्मसम्मानमा ठेस पुग्ने गरि यसरी सार्वजनिक रुपमा दिने अभिव्यक्ति मानव अधिकारको हनन् भएको उल्लेख गरेको छ ।
‘यो अभिव्यक्ति आम महिलाको आत्मसम्मान, स्वतन्त्रता र मानव अधिकार विरोधी छ । महिलाको शरीर र यौनिकताका विषयलाई राजनैतिमा खिल्ली उडाउने, हाँसो र ठट्टाको विषय बनाउने कार्य जो कोहिबाट भएपनि निन्दनीय छ, यस भनाईको हामी भत्सर्ना र खुलेर विरोध गर्दछौं । स्मरण रहोस् कि राजनीतिक दलका विशेष गरी वर्तमान नेकपाका ‘वरिष्ठ’ कहलिएका नेताहरूबाट बारम्बार रूपमा महिला द्वेषी र महिला विरूद्द हुने हिंसालाई ‘सामान्य’ हुन् भन्ने प्रकारका अभिव्यक्तिहरू आएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
महिला सञ्जालले नेकपा लगायत अन्य राजनीतिक दलका नेताका साथसाथै नेपालमा रहने समस्त जनमानसलाई यसको प्रतिरोध गर्नको लागि आव्हान गरेको छ ।




प्रतिक्रिया