सचिवालय सदस्यबाहेकका सांसदहरु स्वतन्त्र छलफलमा जुटौंः जनार्दन शर्मा

सचिवालय सदस्यबाहेकका सांसदहरु स्वतन्त्र छलफलमा जुटौंः जनार्दन शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले पार्टीका शीर्ष नेताबाहेकका सांसदहरुको छुट्टै छलफल आवश्यक रहेको बताएका छन् ।

बुधबार बिहानै सामाजिक सन्जालमार्फत् नेता शर्माले पार्टी विभाजनपछि दुवै पक्षका शीर्ष नेता एकअर्कोविरुद्ध तीव्र राजनीतिक आक्रमणमा उत्रिरहेको भन्दै पार्टी आन्दोलन र जनताको पक्षमा सचिवालय सदस्यबाहेक सांसदलाई स्वतन्त्ररुपले छलफल गर्न अपिल गरेका हुन् ।

नेकपामा उत्पन्न विवादमाथि सबैको आ–आफ्ना बुझाइ रहेको बताउँदै शर्माले प्रतिनिधिसभा पुनःस्थापना भएको सन्दर्भमा हामी संसदका सांसदहरुले आफैँप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको बताएका छन् ।

उनले भनेका छन्, ‘जनमतको सम्मान र आफ्नो जनप्रतिनिधिको कर्तव्य समेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको सन्दर्भमा सचिवालय सदस्यहरुबाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महसुस गरी पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्ररुपले छलफल गर्न माननीयहरुमा हार्दिक अपिल गर्दछु ।’

नेता शर्माले छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर साझा सुझाव तयार गर्न भएको समेत स्पष्ट पारेका छन् । ‘यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएको समेत जानकारी गराउँछु । कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिने छ,’ उनले भनेका छन् ।

नेकपामा उत्पन्न विवादलाई सैद्धान्तिक कुरा, नेतृत्वको प्रश्न एंवम पदीय झगडाका रुपमा आ–आफ्ना बुझाइ रहेको पनि शर्माले बताएका छन् । नेकपामा देखिएको समस्याको कारण जे भए पनि जननिर्वाचित प्रतिनिधिसभा भंग हुने अवस्थासम्म पुग्नु सबैका लागि दूर्भाग्यपूर्ण अवस्था भएको उनले बताएका छन् ।