काठमाण्डु – ताप्लेजुङको दोभान बजारका भएको आगलागीका पीडितलाई सरकारले ५ लाख रुपैयाँ दिने भएको छ ।
ताप्लेजुङका अग्नि पीडितका तर्फबाट आज ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापा बादलले पीडितलाई सरकारले ५ लाख रुपैयाँ दिने बताएका हुन् । उनले आवासका निम्ति भूकम्प पीडित सरहको मापदण्डका आधारमा आवश्यक रकम उपलब्ध गराउने बताए ।
सरकारले अग्नि पीडितका लागि तत्काल १५ हजार राहत उपलब्ध गराएको जानकारी दिँदै गृहमन्त्री थापाले पीडितका लागि राहत र उद्धारको काम सुरु गरिसकेको बताए । यसअिघ नै सरकारले पीडितका लागि टेन्ट, ब्ल्यांकेट लगायतका सामग्री पठाइसकेको छ ।
ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका ३ स्थित दोभान बजारमा फागुन १८ गते आगलागी भई ४९ घर जलेर ध्वस्त भएका थिए भने डेरावालसहित ७९ परिवार विस्थापित भएका थिए ।
ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्नि पीडित राहत तथा सहयोग समिति गठन गरी बुधबार गृहमन्त्री थापालाई अग्नि पीडितको दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्प पीडित सरह सहयोगको माग गर्दै ज्ञापन पत्र बुझाइएको हो ।




प्रतिक्रिया