सरकारमा जानेबारे काँग्रेसमा दुई धार

सरकारमा जानेबारे काँग्रेसमा दुई धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारमा जाने कि नजाने भनेर कांग्रेसमा दुई धार देखिएको छ। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एकै मञ्चबाट फरक–फरक धारणा अभिव्यक्त गरेका छन्।

सभापति देउवा सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा त्यसबाट भाग्न नहुने पक्षमा देखिए। प्रतिपक्षमै रहेर अगाडि बढ्नुपर्ने पक्षमा देखिए वरिष्ठ नेता पौडेल।

देउवाले आफूले प्रधानमन्त्री पद नखोजेको तर काँधमा आएको जिम्मेवारीबाट पछि नहट्ने बताए। देउवाले आफू प्रधानमन्त्री हुने कुरामा चिन्ता नगर्न पौडेललाई आग्रह गरे। ‘चिन्ता नगरे हुन्छ रामचन्द्रजी तपार्इंले, म प्रधानमन्त्री भए पार्टीकै बन्ने त हो।

अरू पार्टीभन्दा आफ्नै पार्टीको भए तपाईंलाई पनि फाइदा होला, खुसी हुनुहोला भन्ने लाग्छ। तपाईंले शेरबहादुर हुँदै नहोस् भन्ने चाहनुहुन्न होलाजस्तो लाग्छ। अरू हुने शेरबहादुर हुनै हुन्न भन्ने होइन होला’, देउवाले हाँस्दै भने, ‘सानो चित्त नगर्नुस् रामचन्द्रजी, विशाल हृदय राख्नुहोस्, चित्तै सानो छ, रामचन्द्रजीको भन्ने विश्वास भो। त्यस्तो नगर्नुस्। ’

उनले राजनीतिक भाषा बोल्न चितवन नआएको तर पौडेलले बोलेपछि बोल्नुपरेको बताए। ‘राजनीतिक कुरा केही भन्नु छैन। रामचन्द्रजी बोलिहाल्नुभयो के गर्ने समस्या परिहाल्यो’, उनले पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा भने, ‘कांग्रेस पदउन्मुख पनि छैन, काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन। प्रधानमन्त्री पाउँ पनि भनेको छैन है रामचन्द्रजी। परि आयो भने भाग्नेवाला पनि छैन। त्यसकारण पार्टीलाई फाइदै होला। राम्रो कुरा त्यही हो। ’-यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।