काठमाण्डु – आज देशभरका अदालत बन्द गरिएको छ ।
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा आज देशभरका सबै अदालतमा शोक बिदा दिइएको हो ।
पूर्वप्रधानन्यायाधीश सिंहको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको थियो । सर्वोच्चको बुधबार बसेको ‘आकस्मिक’ बैठकले यस्तो निर्णय गरेको हो । योसँगै सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवाद सम्बन्धी निर्णयको फैसला आज नगर्ने भएको छ ।
नेकपा नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको थियो ।
कट्टेलले नेकपा नाममा दाबी गर्दै सर्वोच्चमा दायर गरेको रिटमाथि न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो । सुनुवाइ सकिएपछि आज २० गते निर्णय सुनाउने तय भएको थियो ।
सरकारले फागुन २३ गते प्रतिनिधि सभा बैठक बोलाएको छ । बैठकअघि फैसला आउने आस गरिएको भएपनि आज बिदा भएपछि नेकपा ना विवादमा फैसला आउन थप समय लाग्ने भएको छ । अदालतले अब यो मुद्दाको फैसला २३ गते अगाडि वा पछाडि कहिले तोक्नेछ त्यो भने शुक्रबार मात्र थाहा हुनेछ ।
सत्तारुढ नेकपाभित्र पार्टीको आधिकारिकता विषयमा विवाद चर्किएका बेला कट्टेलले २०७५ मंसिर २१ गते दायर गरेको रिटमाथि सुनुवाइ भएको हो । यसअघि यो रिटमाथि पेसी चढे पनि सर्दै आएको थियो । नाम विवाद किनारा लागे सत्तारुढ नेकपाको विवादसमेत किनारा लाग्ने आँकलन गरिएको छ ।
सर्लाहीमा जन्मेका सिंह २०१० सालदेखि सरकारी सेवामा प्रवेश गरी २०५२ असोज १० मा प्रधानन्यायाधीश नियुक्त भई २०५३ फागुन ३ सम्म सेवारत थिए ।




प्रतिक्रिया