काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको वार्ता सफल भएको बताएका छन् ।
बुधबार र बिहीबार भएको वार्तापछि गृहमन्त्री थापाले वार्ता सफल भई सकारात्मक परिणाम आउन सफल भएको प्रतिक्रिया दिएका हुन् ।
‘नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच हिजो र आज भएको वार्ता सफल भएको छ । यो ऐतिहासिक सहमति र सम्झौताका लागि हामी सबैलाई बधाई । सरकारले आफुले गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्नेछ, अर्कोपक्षबाट पनि हामीले त्यही अपेक्षा गरेका छौँ,’ उनले भने ।
विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएपछि सरकारी वार्ता टोलीका संयोजकसमेत रहेका थापाले सरकारले आफुले गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्ने र अर्कोपक्षबाट पनि सरकारले त्यही अपेक्षा गरेको उल्लेख गरेका छन् ।
सरकारले मंगलबार गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई थिए भने विप्लव नेतृत्वको नेकपाका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र दीपक चलाउने रहेका थिए ।
वार्तामा विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न र पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई बिना सर्त रिहाइ गर्न माग गरेको छ ।




प्रतिक्रिया