काठमाण्डु – सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमतिप्रति इन्काउन्टरमा मारिएका विप्लव समूहका जिल्ला इन्चार्जको परिवारले असन्तुष्टि जनाएका छन् ।
प्रहरीको ‘काउन्टर’मा मारिएका ‘विप्लव’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेलकी दिदी लक्ष्मी पौडेलले बुधबार राति फेसबुकमार्फत सरकार र विप्लव नेकपाबीच भएको वार्ता र सहमतिप्रति असन्तुष्टि जनाएकी हुन् ।
कुमारमाथि घोर अन्याय भएको उल्लेख गर्दै उनले एक थोपा रगत र एक मुठी प्राण रहेसम्म कुमारका अधुरा सपना पूरा गर्न लागिरहने बताएकी छन् ।
‘आज वार्ताको टेबुलमा बस्दा तिम्रो न्यायका लागि कुनै शर्त त्यहाँ राखिएको छैन, तिम्रा सुकुम्बासी जनताका जायज माग पनि राखिएका छैनन्,’ उनले लेखेकी छन्, ‘तर हाम्रो एक थोपा रगत र एक मुठी प्राण भएसम्म तिम्रो न्याय र तिम्रो अधुरो सपना पूरा गर्न अठोट लिएर हिँडिरहेछौँ । फेरि तिमीजस्तै मर्नु परे पनि हामी पछि हट्ने छैनौं ।’
उनले कुमारको न्यायमाथि घात भएको जिकिर गर्दै घात गर्नेहरूसँग लड्ने आफूहरुसँग साहस रहेको भन्दै लेखेकी छन्, ‘पैसा र पावरमात्र ठुलो कुरा हैन, याद रहोस् ।’
आफ्नो भाइ कुमारलाई उनले ‘सर्वहारा सुकुम्वासीको प्रिय नेता’ का रुपमा उल्लेख गरेकी छन् । उनले भाइलाई सम्बोधन गर्दै अगाडि लेखेकी छन्, ‘तिम्रो अदम्य साहसलाई मेरो सलाम । तिमीले न झुक्न जान्यौ, नत बिक्न जान्यौ, जान्यौ त केवल इमानदार हुन ।’




प्रतिक्रिया