सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन ढिलाई, मुख्य सचेतकले भेट्ने समय पाएनन्

सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन ढिलाई, मुख्य सचेतकले भेट्ने समय पाएनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्नी प्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन ढिलाई गरेका छन् । संसद बैठकको मिति नजिकिँदै गर्दा सभामुख सापकोटाले समितिको बैठक बोलाउन ढिलाई गरेका हुन् । नेकपाका मुख्य सचेतक विशाल भट्टराईले २३ गते संसद बैठक आह्वान भए पनि सभामुख सापकोटाले अहिलेसम्म खबर नगरेको जानकारी दिए ।

कार्यव्यवस्था परामर्श समितिमा मुख्य सचेतक, सचेतक सदस्य रहने व्यवस्था छ । समितिको सदस्य भट्टराई छन् भने सचेतकमा शान्ता चौधरी रहेकी छन् । तर, सभामुख सापकोटाले भट्टराईलाई मुख्य सचेतक नमान्ने अड्डी लिएको स्रोतले जानकारी दियो । उनले देव गुरुङलाई नै मुख्य सचेतकको रुपमा मानेको संसद सचिवालय स्रोतले जानकारी दियो ।

सभामुखले संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुपर्ने व्यवस्था छ । कार्यव्यवस्था समितिमा मुख्य सचेतक भट्टराई, सचेतक चौधरी र सांसद खगराज अधिकारी रहेका छन् । भट्टराईले कार्यव्यवस्था परामर्श नियमावली अनुसार एक पक्ष रुपमा बैठक गर्न नमिल्ने बताए ।

उनले भने, ‘समितिमा मुख्य सचेतक म छु, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीजी हुनुहुन्छ त्यस्तो त कसरी होला र सभामुखज्यूले त्यस्तो नगर्नुपर्ने । कार्यव्यवस्था परामर्श नियमावली अनुसार एक पक्ष रुपमा बैठक गर्न मिल्दैन’, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतक भट्टराईलेदे सभामुख सापकोटासँग भेट गर्न खोजे पनि समय नपाएको बताएका छन् । प्रधानमन्त्री ओलीले केही दिनअगाडि दलको मुख्य सचेतकमा भट्टराईलाई नियुक्त गरेका थिए ।

मुख्य सचेतकको जिम्मेवारी पाएदेखि उनले सभामुखसँग भेट गर्न समय माग गरिरहेका छन् । तर, सभामुख सापकोटाले समय नमिलेको भन्दै टारिरहेको बताइएको छ । प्रधानमन्त्रीले मुख्य सचेतकबाट देव गुरुङलाई हटाएर भट्टराईलाई नियुक्त गरेका थिए ।

‘मैले धेरै पटक भनिरहेको छु । समय मिलिरहेको छैन् भन्नुभएको छ । प्रयास जारी छ’, काठमाण्डुपाटीसँग कुरा गर्दै उनले भने ।