काठमाण्डु – विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण गत आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर करिब २ प्रतिशतले ऋणात्मक भएको छ।
राष्ट्रिय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार आव ०७६/७७ मा आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको हो। करिब २० वर्षअघि माओवादी द्वन्द्वका बेलामा पनि एक वर्ष आर्थिक वृद्धिदर ऋणात्मक भएको थियो।
विभागका अनुसार गत आवमा तेस्रो त्रैमासिकसम्म आउँदा मुलुकको अर्थतन्त्र राम्रो थियो। त्यसपछि सुरु भएको कोभिड समस्याले अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित गरेपछि आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको हो।
कोभिड १९ का कारण सरकारले चैत ११ देखि तीन महिनासम्म लकडाउन गरेको थियो। यसबेला आर्थिक क्रियाकलाप पूर्ण रूपमा ठप्प भएका थिए। सरकारले गत आवमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो। कोभिड–१९ प्रकोप देखापरेपछि लक्ष्य संशोधन गर्दै आर्थिक वृद्धि २.२७ प्रतिशतमा खुम्चिने अनुमान गरेको थियो।
कोभिडका कारण अघिल्लो आवको अन्तिम चार महिना (चैत–असार) मा अर्थतन्त्र १५.४ प्रतिशतले खुम्चिएको छ। विभागका उपमहानिर्देशक हेमराज रेग्मीले यो बेला सबैभन्दा बढी आवास, भोजन सेवामा २५.७ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्रमा १३.४ प्रतिशत खुम्चिएको बताए। ‘आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन सकेनन्,’ रेग्मीले भने, ‘कोभिडको असर घरायसी उपभोगमा समेत प¥यो।’
गत वर्ष विद्युत्, ग्यास, वातवारण, सार्वजनिक प्रशासन तथा सुरक्षा, मानव स्वास्थ्य तथा सामाजिक कार्यक्रमबाहेक अन्य सबै क्षेत्रको वृद्धि ऋणात्मक भएको छ। खानी तथा उत्खनन वृद्धिदर २.२ प्रतिशतले ऋणात्मक भएको छ। यसैगरी निर्माण ५.६ प्रतिशत, औद्योगिक उत्पादन ९.१ प्रतिशत, थोक तथा खुद्रा व्यापार, मोटरगाडी र यातायात तथा भण्डारण १०.७ प्रतिशतले ऋणात्मक भएको देखिएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेलले सरकारले गरेको पूर्वअनुमानभन्दा आर्थिक वृद्धि अझै तल झरेर ऋणात्मक अवस्थामा पुगको बताए। ‘कोभिडले समग्र अर्थतन्त्रमा असर पा¥यो,’ उनले भने, ‘लामो लकडाउनका कारण अर्थतन्त्र ऋणात्मक हुन पुगेको छ।’यो समाचार आजको नागरिक दैनिकमा छ ।




प्रतिक्रिया