काठमाण्डु – नेकपा एमालेको माधवकुमार नेपाल समूहले आफुपक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ । हिजो बसेको नेपाल समूहको आकस्मिक बैठकले आजका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।
बैठक ११ बजे बानेश्वरस्थित एक होटलमा बस्ने बताइएको छ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र व्यूँताइदिएपछि एमालेको केपी शर्मा ओली समूह र माधवकुमार नेपाल समूहबीच किचलो बढेको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटी पुनर्गठन गर्दै पदाधिकारी खारेज गरेपछि माधवकुमार नेपाल समूहले आपत्ति जनाएको छ ।
खनाल–नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वानसमेत गरेको छ ।
नेता भीम रावलले पार्टीको विधान विपरीत स्वेच्छाचारी र मनपरी किसिमले भएको निर्णय कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदम भएको भन्दै त्यसलाई कुनै हालतमा मान्न नसकिने प्रतिक्रिया दिएका थिए ।




प्रतिक्रिया