काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले देशलाई अस्थिरतातर्फ धकेल्ने र विकासका क्रमलाई अघि बढ्न नदिने काम गरेको दाबी गरेका छन् ।
१११औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेको कामबाट अतालिएर प्रचण्ड, नेपाल बारम्बार बिरोधमा उत्रेको बताए । उनले पार्टी र सरकारमा बाधा हुँदा पनि सरकारले विकासका थुप्रै काम गरेको दाबी गरे ।
‘पार्टीमा, सरकारमा भोग्नुपरेका बाधा । केही तत्वहरुबाट देशलाई अन्धकारतिर धकेल्ने कुचेष्टा । मैले त्यतातिर जानु पर्दैन । यहाँहरू जानकार हुनुहुन्छ । खुट्टा तान्ने, घेराबन्दी गर्नेले हाम्रो विकासको गतिलाई रोक्न सकेनन्,’ उनले भने, ‘हामी विकासको गतिमा अघि बढेका छौँ, भर्खर मेलम्चीको पानी काठमाण्डुमा खसालेका छौँ । मानिसले पत्याएका थिएनन् । केही दिनभित्र धारा–धारामा वितरण गर्दैछौँ,’ उनले भने ।
त्यस्तै प्रधानमन्त्री ओलीले ३ वर्षमा सरकारले गरेका धेरै कामहरू एकछिनमा भन्न नसकिने बताएका छन् । उनले भने, ‘सरकारले ३ वर्षमा गरेका काम, यतिधेरै कामहरू सरकारले गरेको छ, एकछिनमा भन्न सकिँदैन ।’
त्यस्तै प्रधानमन्त्री ओलीले आफुलाई कसैले सत्ताबाट हटाउन नसक्ने दाबी गरे । कसैले मोर्चा कसेर हटाए पनि २० महिनापछि फेरि दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट पस्ने बताए ।
उनले भने, ‘२०७३ मा पनि मलाई हटाएका थिए, १९ महिनापछि झण्डै दुई तिहाई बहुमतका साथ सिंहदरवार फर्केँ । अहिले पनि कसैले सक्छ भनेर हटाएर देखाए हुन्छ, २० महिनापछि फेरि नेकपा एमाले दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट भित्र पस्छ ।’
उनले जनतामा जाने निर्णय गर्दा विरोध गर्ने प्रचण्ड, माधवहरु चुनावमा गए धुलो चाट्ने टिप्पणी गरे । ‘लोकतन्त्रमा नयाँ जनमतका लागि चुनावमा जाने निर्णय गलत होइन । तर, कसैकसैले चिच्याईं चिच्याईं बिरोध गरे,’ उनले भने, ‘उनीहरु चुनावमा गए धुलो चाट्छन् । जनताले धुलो चटाउँछन् ।’




प्रतिक्रिया