काठमाण्डु – पुनःस्थापित नेकपा एमालेको आधिकारीक बैठक बस्नु अगावै वरिष्ठ नेता माधवकुमार नेपालले एमाले विभाजनको तयारी शुरु गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा शुक्रबारको विशेष बैठकले गरेका निर्णयलाई अस्वीकार गर्दै माधव नेपाल समूहले समानान्तर संरचना बनाएको छ ।
संरचनाअनुसार प्रदेश नम्बर–१ को संयोजकमा भीम आचार्य, प्रदेश नम्बर–२ मा घनश्याम भुसाल, वाग्मती प्रदेश संयोजकमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश संयोजकमा सुरेन्द्र पाण्डे छन् ।
त्यस्तै लुम्बिनी र कर्णाली प्रदेश संयोजकमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेश संयोजनको जिम्मेवारी भीम रावललाई दिइएको छ । नेपाल समुहले कर्णालीमा नेता नभेटाएपछि ज्ञवालीलाई नै संयोजक बनाएको छ ।
युवा संगठनको जिम्मेवारी रघु पन्त, विद्यार्थी संगठन विभाग प्रमुख गोकर्ण विष्ट, प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई दिइएको छ । महिला विभाग प्रमुख अष्टलक्ष्मी शाक्य, वुद्धिजिवी विभाग प्रमुख प्रमेश हमाल, कानुन विभागको प्रमुखको जिम्मेवारी गोविन्द वन्दी र टीकाराम भट्टराईलाई दिइएको छ ।
साथै नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । भेलामा आफु पक्षका केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको उपाध्यक्ष भीम रावलले जानकारी दिए ।
उनले सो भेलाबाट नयाँ रणनीति तय गरिने बताए । उनले बैठकले सरकार परिवर्तनको सन्दर्भमा पनि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको जानकारी दिए ।




प्रतिक्रिया