काठमाण्डु – नेपालमा प्रत्येक वर्ष ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिएको तथ्यांक सार्वजनिक भएको छ ।
विश्व क्षयरोग दिवसका अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आयोजना गरेको कार्यक्रममा केन्द्रका निर्देशक डा. अनुज भट्टचनले आ.व. २०७५/७६ मा सम्पन्न क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणबाट नेपालमा प्रत्येक वर्ष ६९ हजार क्षयरोगी थपिने गरेको जानकारी दिए ।
केन्द्रले उपचारका दायरामा नआएका करिब ४१ हजार क्षयरोगका नयाँ बिरामी पत्ता लगाई उपचारमा ल्याउनुपर्ने अवस्था रहेको जनाएको छ ।
नेपालमा हाल निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान ९ प्रतिशत तथा उपचार गराउनेको संख्या करिब १५ प्रतिशत रहेको केन्द्रको अनुमान छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत स्वास्थ्य प्रणालीमार्फत जम्मा ४ हजार ९ सय ५५ उपचार केन्द्रहरुबाट डोट्स उपचार सेवा तथा ७ सय ६५ प्रयोगशाला र ७२ वटा जीनएक्सपर्ट केन्द्र एवं २ वटा राष्ट्रिय प्रेषण प्रयोगशालाहरुबाट क्षयरोगको रोग निदान सेवा प्रदान गरिरहेको निर्देशक डा. भट्टचनले जानकारी दिए ।
सरकारले क्षयरोग स्वास्थ्य समस्या मात्र नभई सामाजिक समस्यासमेत भएकोले उपचारमा सहजता ल्याउनका लागि डिआरटिबी बिरामीलाई उपचार अवधिका लागि यातायात तथा पोष्णा सहयोग मासिक तीन हजार प्रदान गर्दै आइरहेको छ । यसलाई अझै वृद्धि गर्दै लगिने केन्द्रले जनाएको छ ।
उनले क्षयरोग नियन्त्रणमा मूख्य गरी जनशक्ती अभाव रहेको जानकारी दिए । कर्मचारी समायोजनपछि केन्द्रसँग अनुभवी कर्मचारीको अभाव रहेको डा. भट्टचनले बताए ।
क्षयरोगीको उपचार गर्नका लागि ठुलो लगानी गरिएको भन्दै उनले पिसिआर सेवालाई हरेक जिल्लामा पुर्याउने तयारी भइरहेको बताए ।
निर्देशक डा. भट्टचनले सरकारले उपचारको केन्द्र बढाएको र गुणस्तरिय सेवा बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
क्षयरोग नियन्त्रणका लागि ५ वर्षे रणनीतिक योजना (२०२१ देखि २६ सम्म) सार्वजनिक गरेर संघीय सरकार र प्रदेशमा उच्च नेतृत्वको आवश्यकता रहेको उनले बताए ।
स्वास्थ्यको प्रणालीगत सुधार गरेर प्रयोगशालाको संख्या बढाउनुपर्ने र स्थानीय तहरुसँग समन्वय गरेर नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाई छ ।
‘जनशक्तिको अभाव, पालिकास्तर र स्वास्थ्यकर्मीको चुनौती छ । टिबीकै लागि स्पष्ट दरबन्दी नरहेको, क्षयरोगको उपचारमा ठूलो लगानीको आवश्यकता रहेको छ’, उनले भने, ‘दक्षिण एसियामा नेपाल अग्र पंक्तीमा छौं ।’
क्षयरोग नियन्त्रणका लागि केन्द्रसँग झण्डै ८० करोड बजेट रहेको उनको भनाई छ । उक्त बजेट बिरामीलाई औषधि खरिद लगायतका विषयमा खर्च हुँदै आइरहेको निर्देशक डा. भट्टचनले बताएका छन् ।





प्रतिक्रिया