धनगढी – गुजाराका लागि भारत पसेका नेपालीहरु कोरोना भाइरसको त्रासले स्वदेश फर्किन थालेका छन् । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर चलेपछि त्यहाँ गएका नेपालीहरु धमाधम स्वदेश फर्किन थालेका हुन ।
भारतबाट फर्किने नेपालीको अहिले गौरीफन्टा नाकामा लर्को नै लाग्ने गरेको छ । केही महिना अगाडि कोरोना महामारीकाबीच यताबाट भारत जानेको भीडभाड थियो । अहिले उताबाट फर्किनेको लर्को लागेको छ ।
कोरोनाको खतरा पुनः बढेको र चैते अष्टमी, बिसु जस्ता पर्व आएकाले स्वदेश फर्केको भारतबाट फर्किने कामदारहरुले बताउनुभएको छ । ‘भारतमा कोरोनाको फेरि त्रास बढेपछि घर फर्के’, कैलालीको गोदावरी नगरपालिका–११ का हर्के भुलले भने । ‘म बसेको ठाउँमा धेरै सङ्क्रमण छैन । तर, चाडपर्व पनि आएको र नाका फेरि बन्द हुने डरले घर फर्किएँ ।’ उहाँले कोरोना महामारी अलि कम भएको बेला भारतको दिल्ली पुगेर केही महिना काम गरेको सुनाए ।
नाकाबाट दैनिक हजारको सङ्ख्यामा नेपालीहरु फर्किरहेका गौरीफन्टा नाकामा खटेका सुरक्षाकर्मीले जानकारी दिएका छन् । गत फागुन महिनामात्रै गौरीफन्टा नाकाबाट २१ हजार १११ जना स्वदेश फर्किएका जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । यसैगरी, गड्डा चौकी नाकाबाट फागुन महिनामा १७ हजार ८६४ जना नेपाली भित्रिएका छन् । पछिल्लो चार पाँच दिनमा हजारौंको सङ्ख्यामा नेपाली फर्किएका जनाइएको छ ।
भारतबाट फर्किनेहरुमध्ये केहीमा कोरोना भाइरसको सङ्क्रमण पनि देखिएको छ । उनीहरुका कारण सुदूरपश्चिम प्रदेशमा खतरा भएकाले सुरक्षा सतर्कता बढाइएको छ । तर, स्वदेश फर्किने सबैको कोरोना परीक्षण गर्ने गरिएको छैन । उनीहरुको ज्वरो नाप्ने कार्यमात्रै भइरहेको छ । शङ्कास्पद् र भारतमा कोरोना फैलिएको क्षेत्रबाट फर्किने व्यक्तिहरुको एन्टिजेन परीक्षण गर्ने गरेको गौरीफन्टा नाकामा खट्नु भएका पुनर्वास नगरपालिकाका अहेब गणेशबहादुर साउदले बताए ।
‘शङ्कास्पद् र बढी कोरोना प्रभावित ठाउँबाट फर्किनेको स्वास्थ्य चेकजाँच गरे पनि फर्किने सबै व्यक्तिको स्वास्थ्य जाँच गर्न सकिएको छैन’, उनले भने । ‘प्रशासनले कडाइ नगर्दासम्म त्यो सम्भव पनि छैन ।’ नाकामा पाल टाङ्गेर स्थापना गरिएको हेल्थ डेस्कमा जनशक्ति कम रहेकाले समस्या भइरहेको साउदले बताए ।
‘कोही परीक्षण गर्न नै मान्दैनन्’, उनले भने । ‘उनीहरु लाइन नलागेर गइहाल्छन् । प्रशासनले कडाई नगर्दासम्म हाम्रोमात्रै प्रयासले सबैको स्वास्थ्य जाँच गर्न सम्भव छैन ।’-यो समाचार आजको गोरखापत्रक दैनिकमा छ ।




प्रतिक्रिया