काठमाण्डु – नेकपा एमालेका नेता महेश बस्नेत र जेलमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीबीच वार्ता भएको छ । शुक्रबार सांसद बस्नेत डिल्लीबजार कारागारमा रहेका चौधरीलाई भेट्न पुगेका थिए ।
जसपाले सरकारमा जानका लागि विभिन्न माग राख्दै आइरहेको छ । चौधरीलाई रिहा गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, संविधान संशोधन र मधेश आन्दोलनका मुद्दा फिर्ता गर्नुपर्ने जसपाको माग छ ।
चौधरीसँगको भेटमा सांसद बस्नेतले चाँडै जेलमुक्त गर्ने आश्वासन दिएको स्रोतले जानकारी दियो । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिएका सांसद बस्नेतले चाँडै नै रिहा गर्न सरकार प्रतिबद्ध रहेको बताएको स्रोतले जानकारी दियो । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकसमेत चौधरीलाई छुटाउने विषयमा छलफल भएको बताइएको छ ।
जसपा अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री अोली तयार रहेकोसमेत बताएका छन् । जनकपुर पुगेका अध्यक्ष ठाकुरले चाँडै जसपाले राखेका माग पूरा हुने बताए । बिहीबार एक विज्ञप्ति जारी गर्दै सांसद चौधरीले आफू पार्टीको निर्णयमा बाधक नबन्ने बताएका थिए ।
‘सरकारमा सहभागी हुने नहुने निर्णय मेरो एक प्रयासले सम्भव हुने कुरा पनि होइन । त्यो पार्टीको निर्णय होला’, उनले भनेका थिए, ‘पार्टीले गर्ने निर्णयमा म बाधक बन्ने कुरा कल्पनासमेत गर्न सकिँदैन । कृपया जथाभावी, कपोकल्पित र भ्रामक समाचार लेखेर मलाई दुःखी नबनाई दिनुहोला । जेलमा रहे पनि म सांसद हुँ । मेरो मर्यादा मलाई थाहा छ । म गलत शब्दले कसैलाई प्रहार गर्न परिकल्पना पनि गर्न सक्दिन । पार्टीको विधि पद्धति अनुसार अध्यक्ष महन्थ ठाकुर र अन्य नेताहरुले राम्रो गरिरहनु भएको छ । ’
बिहीबार नै चौधरीलाई रिहा गर्नुपर्ने माग राख्दै भएको धर्ना कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले पनि समर्थन जनाएका थिए । उनले माइतीघर मण्डलामा धर्नामा समर्थन जनाएका थिए । ज्यान मारेको अभियोगमा जेलमा रहेका सांसद छुटाउन पहल गरेको भन्दै गृहमन्त्री बादलको चर्को आलोचना भइरहेको छ ।
२०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै थारु अगुवाहरुले आइतबारदेखि धर्ना दिँदै आएका छन् ।
२०७२ सालमा प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो ।
सो घटनामा सांसद रेशम चौधरी दोषी ठहर भई हाल जेलमा छन् । अन्य थारु अगुवाहरु पनि कोही जेलमा छन् भने कोही फरार रहेका छन् ।




प्रतिक्रिया