काठमाण्डु – नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले यूईएफए च्याम्पियन्स लिगमा ऐतिहासिक कीर्तिमान बनाएका छन्।
तर उनको कीर्तिमानी गोलका बाबजुद म्यानचेस्टर सिटी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ४–२ ले पराजित भएको छ।
हालान्डले च्याम्पियन्स लिगमा ६० गोल पूरा गर्दै सबैभन्दा कम उमेरमा र सबैभन्दा छिटो यो उपलब्धि हासिल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। उनले प्रतियोगितामा ६० खेल खेल्दा ६१ गोल गरेका छन्।
यसक्रममा उनले लियोनल मेस्सीको पुरानो कीर्तिमानलाई २० खेल कम खेलेर तोडेको उपलब्ध विवरणमा उल्लेख छ।
सिटीका सर्वाधिक गोलकर्ता
पीएसजीविरुद्ध दुई गोल गरेका हालान्ड म्यानचेस्टर सिटीको च्याम्पियन्स लिग इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीसमेत बनेका छन्। उनले सर्जियो अगुएरोको ३६ गोलको कीर्तिमान उछिनेका हुन्।
हालान्ड : ३८ गोल, ४१ खेल
सर्जियो अगुएरो : ३६ गोल, ६४ खेल
खेलको पहिलो हाफमा पीएसजीले डिजिरे डुए, उस्मान डेम्बेले र भिटिन्हाको गोलमा ३–० को अग्रता बनाएको थियो।
दोस्रो हाफमा हालान्डले ५३औँ र ७५औँ मिनेटमा गोल गर्दै सिटीलाई खेलमा फर्काउने प्रयास गरे। तर ६२औँ मिनेटमा म्याग्नेस अक्लिउसले गोल थपेपछि पीएसजीले ४–२ को जित सुनिश्चित गर्यो।
हालान्डका लागि व्यक्तिगत कीर्तिमानको रात बने पनि सिटीले भने घरेलु मैदानमा निराशाजनक हार बेहोरेको छ।


प्रतिक्रिया