काठमाण्डु – नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती दिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बाँस्कोटाले प्रधानमन्त्रीको राजीनामा माग्ने दलहरुलाई सरकार ढालेर देखाउन चुनौती दिएका छन् ।
‘सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, सरकार एकदलीय वा दुई दलीय के बनाउने के गर्ने भन्न नसक्ने, अनि अहिलेको सरकारको कामचलाउ भन्ने ?’, उनले भने, ‘विश्वासको मत फिर्ता लिनुस् न, अर्को विषय सुरु हुन्छ, तर राजनीतिलाई बन्दी बनाउन हामी सक्दैनौं । समर्थन आफू फिर्ता गर्न नसक्ने गठबन्धन सरकारको एजेण्डा प्रस्तुन गर्न नसक्ने सरकारलाई कामचलाउ भन्ने ? सरकार कसरी कामचलाउ भयो ?’
संसदलाई बन्दी बनाएर आफूहरू अघि बढ्न नसक्ने भन्दै उनले प्रधानमन्त्रीमाथिको विश्वासको मत पहिले फिर्ता गर्दै सरकारको हैसियतबारे प्रतिक्रिया जनाउन चुनौती दिए ।
‘राजनीतिको मैदान खुला छ, संसदलाई बन्दी बनाएर हामी अघि बढ्न सक्दैनौँ । आफैँ अड्काउने, आफैँ पड्काउने काम बन्द होस्,’ उनले भने ।
उनले केपी ओली नेतृत्वको सरकार बन्नुअघि सम्म नेपालको राजनीति राजनीतिमा मात्रै केन्द्रीत रहेको बताए ।
‘जनताको बीचमा जानु प्रतिगमन हुन्छ भने अग्रगमन कस्तो हुन्छ ? विकास र जनताको बीचमा जाने प्रतिगमन यो देशमा बारम्बार भइरहन्छ’, उनले भने ।




प्रतिक्रिया