काठमाण्डु – स्वास्थ्यमन्त्री हृदेश त्रिपाठी र नेपाली कांग्रेसका सांसद गगनकुमरा थापाबीच संसदमा सवालजवाफ चलेको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको प्रश्नउत्तर कार्यक्रममा मन्त्री त्रिपाठी र पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका सांसद थापाबीच कोरोना संक्रमणका बेला सभा जुलुश गरेको विषयमा सवाल जवाफ चलेको हो ।
मन्त्रीलाई प्रश्न सोध्दै सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशालामा हजारौं मान्छे लिएर फुटबल हेर्न गएको विषयमा असन्तुष्टी पोखे । उनले कोरोना महामारीको बेला सरकारबाटै नियम उल्लंघन भएको बताए ।
उनले नेपाली कांग्रेसलगायतका राजनीतिक दलहरुले कोरोना महामारीको नियम उल्लंघन गर्दै सभासम्मेलन चलाइरहेकोमा पनि असन्तुष्टी पोखेका हुन् । ।
सांसद थापाले मन्त्रीलाई प्रश्न गरे
सरकारले भन्यो होली नखेल तर, सरकारका प्रधानमन्त्री हजारौं मान्छे लिएर रंगशाला फुटबल हेर्न जानुभयो । फुटबल हेर्न मिल्ने होली खेल्न नमिल्ने । सरकार भन्छ जनतालाई अनावश्यक भीडभाड नगर तर, सम्माननीय राष्ट्रपतिज्यूबाट धारा खोल्ने, बाल्टिन थाप्ने तमासा भइरहेको छ । सरकारको र हाम्रो पनि सभा चलिरहेको छ । जनतालाई भन्छ पर्व नगर जात्रा नगर । छानीछानी हो र ? सरकारलाई लाग्ने जनतालाई नलाग्ने ? सरकारको धारणा के हो ? पहिलो चरणमा कोरोना अघि–अघि जनता र सरकार पछिपछि भए, मन्त्रालयले के सिक्यो, म जान्न चाहन्छु ।
सांसद थापाको प्रश्नको जवाफ दिँदै मन्त्री त्रिपाठीले पार्टी, नेता, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुले सभा गरिरहेकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताएका छन् । उनले स्वास्थ्य मापदण्ड उल्लंघन भइरहेकाले गगन थापाले नै नियम उल्लंघन गरेको बताए ।
थापाको प्रश्नको जवाफ दिँदै मन्त्री त्रिपाठीले भने
पार्टीहरुले, नेताजीहरुले, प्रम, भूतपूर्व प्रम सबैले नै जुन सभा गर्नुभयो, स्वास्थ्य मन्त्रालयले त थुन्न सक्ने भएन । सबैलाई मम मम गरौं न । कार्यकर्ताले कोरोनालाई त त्यसै धपाइदिन्छन् भनेजस्तो नगरौँ । धन्न देवीको कृपाले केही भएन । तर, मापदण्ड उल्लंघन भएकै थियो । जनतालाई हामीले सचेत गराउने अनि सचेत गराउनेहरु नै त्यसको उल्लंघन गरिरहेका छन् । भएको कुरा हो ।
उनले स्वास्थ्य मापदण्ड उलंघन भएको स्वीकार्दै मापदण्ड पालनामा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । मन्त्री त्रिपाठीले गगन थापाले पनि स्वास्थ्य मापदण्डको उलंघन गरेको बताए । उनले जनता सचेत भए पनि राजनीतिका वृतमा त्यो नदेखिएको बताएका छन् ।
मन्त्री त्रिपाठीले थापामाथि झटारो हान्दै भने
गगन थापा नै मेरो क्षेत्रमा गरेर सभा गरेर मापदण्ड उल्लंघन गर्नुभएको थियो । मैले स्थाथ्यमन्त्रीको हैसियतले भन्दा पनि राजनीतिक कर्मी पनि म हुँ । म सांसद नै हुँ काजमा कहिलेकाँही मन्त्रीमा गइराख्ने भएको हुनाले सांसदकै रुपमा सोच्दा पनि जुन समाज सचेत भयो राजनीतिक वृत्तमा भएन ।




प्रतिक्रिया