काठमाण्डु – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले तीन नेतालाई संगठनको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले जानकारी दिएका छन् ।
नेता महरद्धारा आज जारी विज्ञप्तिमा तीन जनालाई संगठनको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको उल्लेख छ ।
केही दिनअघि माधव नेपाल पक्षीय अनेरास्ववियूको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह–अध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो । समानान्तर गतिविधि गरेको भन्दै महरले चैत १५ गते र चैत २२ गते दुईपटक स्पष्टीकरण सोधेका थिए ।
नेकपा एमालेले यस अघि नै माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गरेको थियो । सोही शैलीमा अखिलले तीन नेतालाई निष्कासन गरेको हो ।




प्रतिक्रिया