काठमाण्डु – सरकारले चीनबाट अनुदानमा पाएको खोप भोलीबाट लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा उत्पादन भएको सिनोफार्मको खोप भोलीबाट लगाउन सुरु गर्ने भएको हो ।
खोप अभियान अन्र्तगत मन्त्रालयले १८ देखि ५९ वर्ष समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधी, फलफूल, तरकारी लगायतका व्यापारीलाई खोप लगाइने जानकारी दिएको छ ।
सरकारले आपतकालिन प्रयोगका लागि चिनियाँ खोप प्रयोगमा ल्याएको हो । मन्त्रालयले तोकेका १४ वटा केन्द्रबाट खोप लगाइने जानकारी दिएको छ ।
वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मिनभवन, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर, नेपाल मेडिकल कलेज अत्तरखेलमा कोरोना खोप लगाइने छ ।
साथै काठमाण्डु मेडिकल कलेज सिनामंगल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु, ओम अस्पताल चाबहिल, क्षेत्रपाटी निःशुल्क चिकित्सालय क्षेत्रपाटीबाट खोप लगाइने मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया