पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छः राजदूत भाने


काठमाण्डु – नेपालका लागि डेनमार्कका राजदूत फ्रेडी भानेले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र तथा हिमतालमा परेको असरलाई डेनमार्क सरकारले निकै गम्भीर रुपमा लिएको बताएका छन् ।

आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न नेपाल आएका राजदूत भानेले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा मात्र नभई ठूलो सङ्ख्यामा नेपालीको जीविकोपार्जनमा समेत नकारात्मक असर गरेकाले उक्त समस्याको समाधानमा नेपालसँग मिलेर काम गर्न डेनमार्क सरकार तयार रहेको बताए ।

उनले नेपाल सरकारलाई आवश्यक सहयोग गर्न आफूले सक्दो पहल गर्ने समेत बताए । जलवायु परिवर्तनको असर विश्वव्यापीरुपमै बढ्दै गएको र हिन्दूकुश हिमालय क्षेत्रमा अझ बढी जटिलरुपीमा देखिएकाले यस क्षेत्रका राष्ट्रहरुबीच सामूहिक प्रयासको खाँचो रहेको बताए ।

पर्यटकप्रति नेपाली जनताले देखाउने आतिथ्यता र आत्मियता निकै लोभलाग्दो रहेको बताउँदै राजदूत भानेले नेपालको प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र यहाँको जीवनशैली निकै आकर्षक रहेकाले पर्यटनबाटै नेपालले आर्थिक विकासमा फड्को मार्न सक्ने धारणा राखे ।

हिमाल आरोहरणमा जाने पर्यटक तथा पथप्रदर्शकको सुरक्षामा सरकारी निकाय तथा हिमालयन उद्धार सङ्घलगायतका संस्थाहरुको भूमिका निकै प्रशंसनीय रहेको बताउँदै उनले भने, ‘आगामी दिनमा बढीभन्दा बढी डेनिस नागरिकलाई नेपाल भ्रमण गर्न प्रेरित गराउन मेरो प्रयास रहने छ ।’

पहिलोपटक आफ्नो छोटो नेपाल भ्रमणका क्रममा काठमाण्डुका स्वयम्भू, बौद्धनाथ र बसन्तपुर दरवार क्षेत्रको अवलोकन भ्रमणबाट निकै प्रभावित भएको र छिटै सपरिवार आई नेपालको भ्रमण गर्ने उनले भने । कोरोना सङ्क्रमणको पहिलो चरणमा नेपाल भ्रमणमा आएका टेनमार्कका पर्यटन र यहाँ वसोवास गरेका डेनिस नागरिकको स्वास्थ्य सुरक्षामा नेपाल सरकारले गरेको कार्य निकै प्रशंसनीय रहेको बताए । उनले डेनमार्कमा रहेका नेपाली नागरिकको सुरक्षामा पनि डेनिस सरकारले उच्च सर्तकता अपनाएको पनि उल्लेख गरे ।

दुई देशबीच लामो घनिष्ट सम्बन्ध रहिआएको र आगामी दिनमा पनि यसलाई अझ जनस्तरमा विस्तार गरी लैजान आफू क्रियाशील रहने बताए । उनले लोकतन्त्र र मानवअधिकारको पक्षमा डेनमार्कको नेपाल सरकारलाई निरन्तर सहयोग रहने बताए । आफूले हिजो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने क्रममा भएको भेटवार्तामा राष्ट्रपति विद्यादेवी भण्डारीका विचारप्रति आफू निकै प्रभावित भएको पनि उनले बताए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको कुराकानीमा पनि दुई देशबीचको सम्बन्धलाई अझ विस्तार गर्दै लैजाने विषयमा छलफल भएको बताए । नेपालका लागि डेनमार्कका वाणिज्यदूत हरि धरेलले दुई देशबीचको सम्बन्धलाई पर्यटनको माध्यमबाट अझ प्रगाढ बनाउनु र दुई देशका नागरिकस्तरको सम्बन्धलाई फराकिलो गराउनु आफ्नो प्राथमिकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement