काठमाण्डु – २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएको धरहरा ६ वर्षपछि नवनिर्माण भएको छ । धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका हुन् ।
छ वर्षमा भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा बनेको छ । धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि प्रधानमन्त्री ओली बालकोनीमा पुगेर काठमाण्डु उपत्यकाको दृष्यावलोकन समेत गरेका थिए ।
लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिसमेत गरे । २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए ।
बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । यसको अग्लाइ जमिनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।
धरहरामा रंगरोगनको काम सकिएको छ र हाल दुईवटा लिफ्ट जडान गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम पनि जारी छ । यद्यपि तत्काललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । निर्माण कार्य पुरा नभएकाले तत्काललाई भने धरहरा भित्र जान नपाइने भएको छ । २०७२ साल वैशाख १२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई सिसाभित्र राख्ने योजना समेत प्राधिकरणका सचिव गेलालले बताए । महारानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले विक्रम संवत् १८८२ मा धरहरा बनाउन लगाएका थिए ।
त्यसैले धरहरालाई भिमसेन स्तम्भ पनि भनिन्छ । १९९० सालको भूकम्पले भत्किएको धरहरा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले पुनर्निर्माण गराएका थिए । जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ । धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भ¥याङसमेत जडान गरिएको छ ।
धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । बाइसौँ तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भ¥याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ ।





प्रतिक्रिया