एजेन्सी – भारतको राजधानी दिल्लीमा कोरोना संक्रमितका कारण अस्पालहरुमा बिरामीले भरिएका छन् भने अक्सिजन अभाव कायम छ। मानिसहरु अस्पतालका बेड र अक्सिजनका लागि संघर्ष गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अक्सिजन सिलिन्डर भर्नका लागि मानिसहरुको लामो लाइन लागिरहेको छ।
ठूला सहरका सरकारी र निजी अस्पतालहरू बिरामीको भार थेग्न नसक्ने अवस्थामा पुगिरहेका छन्। दिल्लीमा ३० शय्या भएको एउटा निजी अस्पताल पेन्टामेड अस्पाल र धेरै ठूलो लोक नायक अस्पताल बाहिर बिरामीको लामाे ताँती लागेको छ।
तर शय्या र औषधी उपचारका लागि आवश्यक सामग्रीको अभावका कारण धेरै बिरामीले भर्ना पाएका छैनन्। उनीहरूले पालो कुर्नुपरेको छ। अस्पतालहरूले बिरामीका आफन्तलाई सामान र अक्सिजनको जोहो गर्न आग्रह गरिरहेका छन्।
कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेकाले राजधानी दिल्ली र देशका अन्य स्थानका अस्पतालहरूमा बिरामीको चाप बढेको छ। बिरामी राख्ने शय्या र मेडिकल अक्सिजनको चरम अभाव भएकाले अस्पतालहरूले भर्ना गर्न पनि सकिरहेका छैनन्।
शय्या पाइएको अवस्थामा पनि अक्सिजन दिने उपकरण जडित एम्बुलेन्सको अभावका कारण बिरामीलाई अस्पताल लैजान समस्या पर्न थालेको छ। दिल्लीमा कृत्रिम अक्सिजन नपाएर बिरामीहरू मर्न थालेका छन्। त्यहाँको अवस्था निकै गम्भीर देखिएको छ। धेरै अस्पतालहरू भरिएका र स्वास्थ्यकर्मीहरू थाकेकाले बिरामीहरूलाई भर्ना लिन नसक्ने अवस्थामा पुगेका छन्।




प्रतिक्रिया