एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको इन्डियन भेरियन्ट विश्वका १७ देशमा पुगेको दावी गरेको छ ।
डब्ल्यूएचओले दिएको जानकारी अनुसार विश्वभरीमा थपिएका संक्रमितहरुमध्ये ४२ प्रतिशत संक्रमितहरु केवल भारतका मात्रै रहेका छन् ।
नयाँ संक्रमितको तथ्यांकको दृष्टिकोणले हेर्ने हो भने भारतमा ३ लाख ७९ हजार २ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । अहिले इन्डियन स्ट्रेन अथवा बी.१.६१७ भेरिएन्ट (डबल म्युटेशन भेरिएन्ट) का कारणले नै भारतमा लगातार कोरोना संक्रमण बढेको हो ।
यसलाई डब्ल्यूएचओले भेरिएन्ट अफ इन्टरेस्ट घोषित गरेको छ । पछिल्लो समय फिजीमा समेत कोरोनाको इन्डियन भेरियन्ट फेला परेको छ ।
डब्लूएचओका अनुसार विश्वमा पछिल्लो हप्ता कोरोनाबाट ५७ लाख ८९ हजार बढी मानिसहरु संक्रमित भएका छन् । उक्त तथ्यांक पहिलेको पीक भन्दा अत्याधिक धेरै रहेको छ ।
विश्वभरीमा हालसम्म कोरोना संक्रमितको कुल संख्या १५ करोड भन्दा बढि भएको छ । जसमध्ये ३१ लाख ७८ हजार भन्दा बढि मानिसले भाइरसका कारण ज्यान गुमाएका छन् भने १२ करोड ७८ हजार बढी मानिसले कोरोनामाथि विजय हासिल गरेका छन् ।
अहिले विश्वमा १ करोड ९३ लाख जना मानिसहरुको उपचार भइरहेको छ । ती मध्ये १ करोड ९२ लाख मानिसमा कोरोनाको हल्का लक्षण छ भने १ लाख १० हजार मानिसको स्थिति गम्भीर रहेको डब्ल्यूएचओले जनाएको छ ।




प्रतिक्रिया